कोहलपुरमा ‘स्वस्थ आमा, सुरक्षित शिशु’ अभियान, २८ दिनसम्मको शिशुको उपचार निशुल्क


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
कोहलपुरमा ‘स्वस्थ आमा, सुरक्षित शिशु’ अभियान, २८ दिनसम्मको शिशुको उपचार निशुल्क

नेपालगन्ज।  कोहलपुर नगरपालिकाले शिशु सुरक्षा कार्यक्रम पनि सुरु गरेको छ। यसअघि नै नगरपालिकाले नेपालगञ्ज मेडिकल कलेजसँगको सहकार्यमा आमा सुरक्षा कार्यक्रम सुरुवात गरिसकेको थियो। 

‘स्वस्थ आमा, सुरक्षित शिशु’ को प्रतिवद्धतासहित अब नगरपालिकाभरि आमा तथा शिशु सुरक्षा कार्यक्रम लागु भएको नगरपालिकाका प्रमुख (मेयर) पूर्ण आचार्यले बताए। यो कार्यक्रम अन्तर्गत अब स्वास्थ्य संस्थामा जन्मिएका नवजात शिशुहरूले निशुल्क उपचारखर्च पाउनेछन्। २८ दिनसम्मको शिशुलाई आइसियु र एनआइसियूमा राखेर गरिने उपचार खर्चसमेत नगरपालिकाले नै बेहोर्ने आचार्यले बताएका छन्। 

‘यस कार्यक्रमबाट कोहलपुर नगरपालिकाभित्रका आमाहरू र नवजात शिशुले उपचारमा आर्थिक समस्या भोग्नुपर्ने अवस्था कम हुने हाम्रो अपेक्षा छ’ आचार्यले भनेका छन् स्वस्थ आमा र सुरक्षित शिशु हाम्रो प्रतिबद्धता हो।’

आमा सुरक्षा कार्यक्रममा नवजात शिशु सुरक्षा कार्यक्रमसमेत समेट्न कोहलपुर नगरपालिकाले मेडिकल कलेजलाई आग्रह गर्दै आएको थियो। सोही विषयमा सहमति हुन नसक्दा गत वर्ष आमा सुरक्षा कार्यक्रम नवीकरण हुन सकेको थिएन। यसबाट नगरपालिकाभित्र बसोबास गर्ने आर्थिक रूपमा कमजोर नागरिकलाई यसबाट ठूलो राहत मिल्ने र गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ।