नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा, छेउमै राप्ती बग्छ

विशेष राहत प्याकेज ल्याउन माग


नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा, छेउमै राप्ती बग्छ

बाँके (नरैनापुर) २७ साउन:  बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रर्याप्त सिंचाइ व्यवस्था नभएकोले यहाँका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । पानी नपरेकाले धान रोपाई हुन नसक्दा बैकल्पिक उपाय अपनाएर लगाएको धानबाली समेत नष्ट भईसकेको हेको गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताएका छन् ।

बढ्दो गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरेपछि खेतीयोग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार हुँदा गाउँपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । गाँउपालिका अध्यक्ष शाहको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको उनले बताए ।

किसानहरुका लागि सिंचाईका लागि व्यापक डिप बोरिङ लयायत अन्य बैकल्पिक व्यवस्था गर्न, सिंचाईको लागि किसानलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि बिद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न बैठकमा कुरा उठेको नरैनापुर ४ का वडाअध्यक्ष मनोज शर्माले बताए । प्रसस्त पानी नपरेका कारण धान रोपाई हुन नसकेको उनले बताए ।

सुख्खा क्षेत्र घोषणा भईसकेकोले किसानहरुका लागि विशेष राहतको प्याकेज ल्याउन प्रदेश र संघीय सरकारसँग गाउँपालिकाले आग्रह गरेको छ । खडेरीले गर्दा कृषिमा आश्रित बहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र संघीय सरकारको ध्यान पुग्न जरुरी रहेको अध्यक्ष शाहको भनाई छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

गाउँ कार्यपालिकाको बैठकबाट नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेपनि नरैनापुर भएरै राप्ती नदी बग्ने गर्दछ । वर्षेनी राप्ती नदीमा आउने बाढीका कारण नरैनापुरको गंगापुर, मटेही, नरैनापुर लगायतको गाउँ डुबान, कटान र पटानामा पर्दै आएकोछ ।

छेउमै अनवरत बगिरहने राप्ती नदीको पानी सदुपयोग गरि सिंचाई समस्या भोग्दै आएका नरैनापुर गाउँपालिकाका किसानको समस्या समाधान गर्ने तर्फ स्थानीय सरकारले चासो समेत लिने गरेको छैन । जसले गर्दा यहाँका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।

यस वर्ष पहिलेको भन्दा बाँकेमा प्रयाप्त मात्रामा वर्षा नभएपछि साउन सकिँदा सम्म पनि जिल्लाको रोपाईमा उल्लेखित सुधार हुन सकेकोछैन । पानीकै अभावका कारण कतिपय किसानले ठूलो क्षेत्रको खेती योग्य जमिन बाँझै राखेकाछन् ।