नरैनापुर पुगेर अर्थमन्त्रीले भने राहत र सिचाइँ ब्यवस्था मिलाउन पहल गर्छु


नरैनापुर पुगेर अर्थमन्त्रीले भने राहत र सिचाइँ ब्यवस्था मिलाउन पहल गर्छु

बाँके(नरैनापुर) १७ भदौः बाँकेको ‘सुख्खाग्रस्त’ क्षेत्र नरैनापुरको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री जनार्दन शर्माले खडेरीबाट प्रभावित किसानलाई राहत र सिचाइँ ब्यवस्था मिलाउन पहल गर्ने बताएकाछन् ।

खडेरीका कारण खेतीयोग्य जमिन बाँझै भएपछि गाउँपालिकाले केही समयअघि सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै किसानलाई तत्काल राहत तथा सिचाइँको बैंकल्पिक ब्यवस्था गरिदिन संघ र प्रदेश सरकारसँग माग गरेको थियो । नेपालगन्ज आइपुगेका अर्थमन्त्री शर्माले शुक्रबार स्थलगत रुपमा निरीक्षण गरेका हुन् ।

नरैनापुर गाउँपालिकामा पुगेर ‘सुख्खाग्रस्त’ क्षेत्रको स्थलगत निरीक्षण गरेका अर्थमन्त्री शर्माले अधिकांस खेतीयोग्य जमिन बाँझै रहेको कुरा प्रत्यक्ष देखेको र सुख्खा खडेरीबाट प्रभावित किसानलाई राहत र सिचाइँ ब्यवस्था मिलाउन आफुले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।

नरैनापुर गाउँपालिकामा आफुले देखेको समस्याबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने र विशेष राहत प्याकेजका विषयमा मन्त्री परिषद् बैठकमा प्रस्ताव लैजाने उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘प्रायः सबै जमिन र खेतहरु बाँझो नै छ, खाद्य संकट स्वतः निम्तिने खतरा देखिन्छ, यस विषयमा म मन्त्री परिषद् बैठकमा प्रस्ताव राख्छु, यस विषयमा अवश्य पनि छलफल होला, म प्रधानमन्त्री ज्यूसँग पनि कुरा राख्छु,’ शर्माले भने ।

स्थलगत निरीक्षणका क्रममा किसानले धान रोप्न नपाएको जमिनमा तत्काल अन्य बाली रोपेर उत्पादन गर्न उनले सुझाव दिए । नरैनापुरमा सिचाइँ सुविधा पुर्याउन निर्माणाधिन सिक्टा सिचाइँ आयोजनाको पूर्वी नहरलाई छिटो पुर्याउनुपर्ने देखिएको शर्माको भनाई छ ।

नरैनापुरमा यसपटक कुल खेतीयोग्य जमिनको १५ प्रतिशत मात्र रोपाई भएको छ । आकाशे पानीको भरमा सो क्षेत्रका अधिकांस खेतीयोग्य जमिन बाँझै भएका छन् ।

नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले सुख्खा खडेरीका कारण खेती गर्न नपाएका किसानमा भोकमरीको समस्या निम्तिन थालिसकेको चिन्ता ब्यक्त गरे ।

‘नरैनापुर एकदमै कठिन अवस्थामा छ, अब भोकमरी पर्ने अवस्था आइसकेको छ,’ उनले भने ‘म कहाँ चार जनाको परिवार भोकमरी पर्यो भनेर सम्पर्कमा आईसकेका छन् ।’ नरैनापुरको समस्या तत्काल समाधान गरिदिन संघीय सरकारसँग अध्यक्ष शाहले माग गरे । नरैनापुरको कुल ६ वटा वडामा ३÷३ वटाका दरले डिप बोरिङको ब्यवस्था गरिदिनुपर्ने उनले बताए ।

पाँच वर्षअघि विकासबाट धेरै पछाडी भएको नरैनापुरको अवस्था अहिले धेरै परिवर्तन भएको बताउँदै उनले भने, ‘विकासका हिसाबले अहिले धेरै अगाडी पुगिसकेको छ, तर प्रकृतिले सधैं ठग्दै आएको छ, कहिले बाढीले बालीनालीमा क्षति पुर्याउँछ, कहिले खडेरी परेर किसानका खेतबारी बाँझै हुन्छ ।’

लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी ‘नमुना’ले नरैनापुरको समस्यालाई तत्काल सम्बोधन गर्न जरुरी रहेको बताइन् । खडेरीका कारण खेती गर्न नपाएका किसानलाई भोकमरी हुनबाट जोगाउन राज्यले विशेष प्याकेज ल्याउनुपर्ने माग गरिन् ।

यस्तै नरैनापुर गाउँपालिका वडा नम्बर–५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्यले पनि नरैनापुरको समस्यालाई सरकारले तत्काल सम्बोधन नगरे भोकमरी पर्ने निश्चित रहेको बताए । नरैनापुरबासीले सरकारसँग धेरै अपेक्षा गरेको उनको भनाई छ ।

नरैनापुरमा पुगेका अर्थमन्त्री शर्मालाई गाउँपालिका अध्यक्ष शाहले औपचारिक कार्यक्रम गरेर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, जिल्ला प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारी, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, विभिन्न वडाका वडाअध्यक्ष, वडा सदस्य, स्थानीय बासिन्दा लगायतको उपस्थिती रहेको थियो । सोक्रममा अर्थमन्त्री शर्माले सुख्खाग्रस्त क्षेत्रका साथै नेपाल–भारत सीमा क्षेत्रको पनि निरीक्षण गरेका थिए ।

थप समाचार

नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा, छेउमै राप्ती बग्छ

नरैनापुरमा विशेष प्याकेज ल्याउने अर्थमन्त्री शर्माले दिए आश्वासन

डिप बोरिङ र राहत उपलब्ध गराउन सिडियोलाई ज्ञापनपत्र

आकाशे पानीको भर पर्दा नरैनापुरमा १५ प्रतिशत मात्र रोपाई

सिंचाई अभावका कारण नरैनापुरबासीको चेत खुल्यो, सिक्टा नहर निर्माणका लागि सर्वेक्षण गर्न दिने

सुख्खाग्रस्त नरैनापुरका किसानलाई मन्त्री अथकको आश्वासन ‘तत्काल राहतको व्यवस्था गराउँछु’