सुख्खाग्रस्त नरैनापुरका किसानलाई मन्त्री अथकको आश्वासन ‘तत्काल राहतको व्यवस्था गराउँछु’


सुख्खाग्रस्त नरैनापुरका किसानलाई मन्त्री अथकको आश्वासन ‘तत्काल राहतको व्यवस्था गराउँछु’

नेपालगन्ज १३ भदौ : यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको सोमबार अनुगमन गर्दै तत्काल राहतको व्यवस्था गराउने आश्वासन दिएकाछन् ।

सिँचाईको अभावमा खडेरी परेको ठहर गर्दै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई गत साउन २६ गते सुख्खा क्षेत्र घोषणा गरेको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले नरैनापुरका जनतालाई राहत प्याकेज दिन माग गरे पनि प्रदेश र संघीय सरकार मौन भएर बसेका बेला मन्त्री अथक सोमबार नरैनापुर पुगेर सुख्खा ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले कृषकहरुलाई उचित राहतका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु गरेका हुन् ।

लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुनुका साथै ९० प्रतिशत रोपाई हुन नसकेपछि त्यो क्षेत्रमा ठूलो मानवीय विपद् तथा खाद्य संकट आउने विषयलाई ध्यानमा राखी संघीय सरकारबाट तत्काल राहतको प्याकेज उपलब्ध गराउने मन्त्री अथकले जिकिर गरे ।

Kids Festival 2022
kanti aarogya hospital

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले मलखाद नपाएर समस्यामा परेका किसानहरु अहिले पानी नपर्दा थप मर्कामा परेको बताउँदै सुख्खाग्रस्त क्षेत्रका कृषकहरुलाई राहत दिन माग गरे ।

घरमा भएको अन्न रोपिसकेको तर, खडेरीले थप मर्कामा पर्दा किसानहरु आत्महत्या गर्ने स्थितिमा पुगेको जिकीर गर्दै उनले भने, ‘पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने अवस्थामा छन् । कति त अहिले आत्महत्या गर्ने स्थितिमा छन् । जे घरमा थियो, त्यो उनीहरुले रोपिसके तर पानी नपरेर रोपेको खेत पनि खडेरी भए पछि अलपत्रमा परेका छन् ।’

अनुगमन गर्न नरैनापुर पुगेका मन्त्री अथकलाई गाँउपालिका अध्यक्ष शाहले नरैनापुरका नागरिकलाई भोकमरीबाट जोगाउन सरकारले नहर र डिप बोरिङको व्यवस्था गर्नु पर्ने माग गरे ।

मन्त्री अथकले नरैनापुरमा तत्काल डिप बोरिङको व्यवस्था गर्ने बताए । मन्त्री अथकसंगै गाँउपालिका अध्यक्ष शाह, उपाध्यक्ष जयनती देबी श्रीवस्ताव, वडा अध्यक्षहरु मसुद शाह, मनोज शर्मा लगायतको टोलीले अनुगमन गरेको थियो ।

मन्त्री अथक बाँके क्षेत्र नम्बर–१ बाट निर्वाचित संघीय संसद हुन् । सुख्खा ग्रस्त क्षेत्र घोषणा भएको नरैनापुर गाँउपालिका क्षेत्र नम्बर–१ अन्तरगत पर्छ ।