ई–पुस्तकालयतर्फ महेन्द्र पुस्तकालय


ई–पुस्तकालयतर्फ महेन्द्र पुस्तकालय

नेपालगन्ज १८ कार्तिकः नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालय ई–पुस्तकालयको अवधारणतर्फ अघि बढ्ने भएको छ ।

पुस्तकालयमा गत भदौ २८ गते भएको अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पुस्तकालयलाई अब ई–पुस्तकालयको मोडेलमा पनि अघि बढाउनेगरी कार्यक्रम तय गरेको हो ।

पुस्तकालयको शुक्रबार सम्पन्न कार्यसमितिको बैठकले पुस्तकालयको चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गर्दै ई–पुस्तकालय बनाउनका लागि बजेट विनियोजन गरेको छ ।

कुल २७ लाख पाँच हजार रुपैयाँको बजेट निर्धारण गर्दै कार्यसमितिले ई–पुस्तकालयका लागि दुई लाख रुपैयाँ बजेट छुट्याएको हो । अब पुस्कतकालयका आजीवन सदस्यहरुमध्येबाट ई–पुस्तकालय उपसमिति गठन गरी काम अघि बढाइने पुस्तकालयका अध्यक्ष बलराम यादवले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

यसवर्ष ई–पुस्तकालयका लागि आवश्यक भौतिक स्रोतसाधन खरिद गर्ने र ई–पुस्तकालयको सुुरुवात गर्ने कार्यक्रम निर्धारण गरिएको उनले बताए । आफूहरुको कार्यकालमा महेन्द्र पुस्तकालय ई–पुस्तकालयको पूर्ण मोडेलमा गइसक्ने उनको दावी छ ।

यसका साथै पुस्तकालयमा केही हप्तामै वाचनालय सञ्चालन गर्ने, पुस्तकहरु पाठकहरुले पढ्न पाउने व्यवस्था मिलाउने र सभाहल सञ्चालन ल्याउने पनि उनले जानकारी दिए ।

पुस्तकालयबाट पुस्तक घरमा लिएर पढ्नेगरी नियमित पाठक बन्नका लागि सदस्य बन्न चाहनेहरुका लागि सदस्यता आवेदन पनि खुला गरिएको यादवले जानकारी दिएका छन् ।

पुस्तकालयको नियमित पाठक बन्न चाहनेहरुले दुई सय रुपैयाँ शुल्क तिरेर सदस्यता लिन सक्नेछन् । त्यस्ता सदस्यहरुले पुस्तकको मूल्यको केही प्रतिशत धरौटी राखेर पुस्तक फिर्ता गर्नेगरी घरमा लिएर अध्ययन गर्न पाउनेछन् ।

विस २००३ सालमा नेपालगन्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय २०२४ सालमा महेन्द्र पुस्तकालयमा परिणत भएको थियो । २०५४ सालपछि अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालयमा २०७८ चैत २९ गते तदर्थ समिति गठन भएको थियो । उक्त समितिले गत भदौ २८ गते अधिवेशन गराई निर्वाचित भएको कार्यसमितिले अहिले पुस्तकालयलाई पुनर्जीवन दिने प्रयास गरिरहेको जनाएको छ ।

थप समाचार

साढे दुई दशकपछि महेन्द्र पुस्तकालयले नेतृत्व पायो

महेन्द्र पुस्तकालय अब १० बजे खुल्ने

महेन्द्र पुस्तकालयमा पाँच पदेन सदस्य मनोनित

जोगिदैं नेपालगन्जको पहिचान, काँचुली फेर्ने तरखरमा महेन्द्र पुस्तकालय