नेपालगन्जमा जम्यो नेपथ्यको लोक रक साँझ


नेपालगन्जमा जम्यो नेपथ्यको लोक रक साँझ

नेपालगन्ज २९ मंसिर : बत्तीका चकमन्न रंगीविरंगी धर्काहरुले आकाश र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले गाउन सुरु गरे
‘आकाशैबाट के उडि आयो
भेँडाको ऊनजस्तो’

उता मञ्चको माथिल्लो भागबाट हिउँ पर्दै गरेको भान पार्नेगरि स्नो इफेक्टको प्रयोग गरिएको थियो । तल साँगीतिक उत्तेजनामा चिच्याइरहेका झण्डै साढे ५ हजार बढी दर्शकको आवाजले मञ्चको ध्वनीलाई समेत चूनौती दिइरहेको थियो ।

एक दशकपछि नेपालगन्जमा आयोजित कन्सर्टमा उपस्थित ब्याण्डलाई दर्शकहरुले भरपुर स्वागत गरे । पछिल्लो पटक नेपथ्यले १० वर्षअघि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत आफूलाई नेपालगन्जमा प्रस्तुत गरेको थियो । ब्याण्डले यसपटक पहिलो चोटी नेपालगन्जमा खुला आकाशमुनि नेपालगन्ज रंगशालामा ‘भब्य’ मञ्च तयार पारेर नेपालगन्जबासीलाई मन्त्रमुग्ध बनायो ।

Kids Festival 2022
kanti aarogya hospital
add

मैदानभरि अटाएका दर्शकहरुको भव्य र सभ्य उपस्थितिले यसरी मुलुकभरको यात्रामा निस्केको नेपथ्यको यो पाचौं प्रस्तुति पनि व्यापक रुपमा सफल भएको छ । महिना दिन लामो यात्रा अन्तर्गत यसअघि विराटनगर, वीरगञ्ज, हेटौंडा र चितवनमा यस्तै भब्य कन्सर्ट सम्पन्न भइसकेका छन् ।

यसरी करिब डेढ दशक पुरानो गीतबाट सुरु गरेको ब्याण्डले झण्डै तीन दशक पुरानो ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएर नेपालगन्ज गुल्जारमय बनायो । नेपथ्यको सबैभन्दा हिट यो गीत ब्याण्डको दोस्रो एल्बम ‘हिमाल चुचुरे’ मा अटाएको थियो ।

लगत्तै उनले ‘खान्न म त लामपाते सुरती’ गीत सुनाएका थिए । यसरी धमाधम लोकप्रिय गीतहरु सुनाउन्जेल मंसिर अन्त्यको चिसोकै बीच पनि नेपालगन्जका दर्शकहरुमाझ ब्यापक तापक्रम फैलिसकेको थियो ।

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरू ‘तालको माछा कोइ गन्न सक्दैन’, ‘जोमसोमे बजारमा’ र ‘शीरफुल शीरैमा, वन फूल वनैमा’ले निरन्तरता दिएका थिए । कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवा पुस्तामाझ लोकप्रिय ‘लोक’ संगीत टोली हो ।

मानवसेवा आश्रमको भवन निर्माण एवंम अक्षय कोष स्थापनार्थ नेपालगन्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना गरिएको हो । यो कन्र्सटमा उपस्थित दर्शकको संख्या बाँकेमा हालसम्म आयोजित कन्र्सटमध्येकै सर्वाधिक बढी दर्शक सहभागि कन्र्सट हो । योसंगै दर्शकको उल्लेख्य साथ पाएको नेपथ्यको कन्र्सटले नयाँ रेकर्ड स्थापित गरेकोछ ।

विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमले नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट गरेको हो ।

नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रममा आश्रितको स्वास्थ्य उपचार तथा आपतकालिन अक्षयकोष स्थापना गर्नका लागि नेपालगन्जसहित देशका १० शहरहरुमा नेपथ्यको लाइभ कन्सर्ट गरिदैँछ ।

सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गरिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । उनले नेपालगन्जमा भब्य र सभ्यरुपमा कन्र्सट सम्पन्न भएकोमा सबैप्रति आभार प्रकट गरे ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।

कन्सर्ट मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले कन्र्सटमा साढे ५ हजार बढीले सहभागिता जनाएको बताए । दर्शकले भरिभराउ रंगशालाको प्याराफिटमा समेत दर्शक बसेका थिए ।

बाँकेका दानवीर एवं समाजसेवी जेके सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नम्बर–६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया थालिएको हो ।

सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर–१० मा घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।