नेपालगन्ज। समानान्तर पार्टी गतिविधि सञ्चालन गर्दै आएका नेपाली काँग्रेस (शेरबहादुर देउवा पक्ष)को एउटा समूहले अब १५औं महाधिवेशनको अन्तिम तयारीमा जुटेको जनाएको छ। त्यसैअनुसार वडा र क्षेत्रहरूमा अधिवेशन गरिसकेको यो समूहले अब जिल्ला अधिवेशन गराइरहेको छ।
सबै जिल्ला अधिवेशनहरू सकेर अब आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन काठमाडौंमा हुनेछ। यसअघि संस्थापन पक्ष (गगनकुमार थापा)ले महाधिवेशन गरेको खुलामञ्चमै देउवा पक्षले पनि महाधिवेशन उद्घाटनको तयारी गरिरहेको छ।
कतिपय जिल्लाहरूमा पुराना तथा पार्टीका पूर्वसभापतिहरू समेत देउवा समूहतिरै छन् भने कतिपय नेताहरू गगन समूहतिर खुले पनि कुनै पदमा पराजित भएका वा त्यहाँ ‘ठाउँ’ पाउन नसकेपछि फेरि देउवा समूहतिरै लागेका छन्। अहिलेसम्म वडा तहदेखि नै देउवा समूहले लगभग सहमतिमै नेतृत्व चुन्दै आएको छ।
यसैबीच बाँकेका नेपाली काँग्रेसका नेता-कार्यकर्ताबीच अहिले महाधिवेशनमा थप रोचकता देखिन थालेको छ। पुराना र प्रभावशाली नेताहरूलाई हेर्ने हो भने बाँकेमा गगनभन्दा देउवा समूहकै वर्चश्व देखिन्छ। पुराना र प्रभावशाली नेताहरू धेरैजसो देउवा समूहतिरै फर्किएका छन्।
पूर्व तथा निवर्तमान सांसदहरूसमेत देउवा समूहतिरै लागेका छन्। पूर्व सांसद मईकुलाल बाल्मिकी अहिले देउवा समूहको महाधिवेशनमा पनि सक्रिय भएर लागेका छन्। असोज दोस्रो साता भएको नेपाली काँग्रेस (गगनकुमार थापा पक्ष) को १५औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उनि पराजित भएपछि देउवातिरै फर्किएका हुन्। यो महाधिवेशनबाट पार्टीका जिल्ला सचिव सुधान्शु कोइराला र सीतादेवी काफ्ले केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
त्यस्तै लुम्बिनी प्रदेस सांसद सुरेन्द्र हमाल र माया पुन मगर पनि देउवा समूहतिरै फर्किएकी छिन्। उनि गगन समूहको महाधिवेशनका बेला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएकी थिइन्। गगनतिरैबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित याकुब अन्सारी पनि अहिले देउवा समूहको महाधिवेशनमा सक्रियता देखाइरहेका छन्। त्यो महाधिवेशनमा पराजित सुशिला नेपाली वादी, मिना बोहरा सिद्दिकीहरू पनि अहिले देउवा समूहतिरै फर्किएको जिल्ला संयोजक कृष्ण कार्कीले बताए।
पूर्वमन्त्री गजेन्द्र हमाल सुरुदेखि नै देउवा पक्षमा खुलेका थिए। त्यस्तै जिल्ला नेता निरञ्जन सिंह सिजापति, बाँके क्षेत्र नं १ का पूर्व क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला नेता हुर्मत न्यौपानेलगायत जिल्लाका प्रभावशाली नेताहरू पनि अहिले देउवा समूहतिर लागेका छन्।
बाँकेमा अहिलेसम्म वडादेखि क्षेत्रसम्मको अधिवेशनहरू सकिएका छन्। जसअनुसार क्षेत्र नं १ मा यज्ञबहादुर महरा, क्षेत्र नं २ मा राजु पोख्रेल हमाल र क्षेत्र नं ३ मा मोहम्मद नक्की खाँ सभापतिमा निर्वाचित भएका छन्। अब जिल्लाको अधिवेशन कात्तिक १९ गर्नेगरी तयारी भइरहेको छ।
देउवा समूहका जिल्ला अधिवेशन तयारी समितिका संयोजक कृष्ण कार्कीका अनुसार अहिलेसम्म वडा तहदेखि नै सबै नेतृत्व सहमतिमै टुङ्गिएका छन्। जिल्ला अधिवेशन पनि लगभग सहमतिमै नेतृत्व चयन गर्नेगरी छलफल अघि बढाइएको उनले बताएका छन्।
‘अहिलेसम्म सबै वडाहरूमा सर्वसम्मतरुपमा नेतृत्व चयन गरेका छौं। अब हामीले जिल्ला अधिवेशनको पनि तयारी गरिरहेका छौं। आगामी १९ गते जिल्ला अधिवेशनका लागि अन्तिम तयारीमा जुटेका छौं’ संयोजक कार्कीले भने ‘जिल्लासम्मै पनि हामीले सर्वसम्मत नेतृत्व चुन्ने तयारीमा छौं। अहिले पार्टीको अवस्था यस्तो छ। सकभर सबै साथीहरूलाई मिलाएर लैजानेगरी हामी छलफलमा जुटेका छौं।’
उनका अनुसार अहिले देउवा समूहमा प्रभावशाली नेताहरू जुट्न थाल्दा थप उत्साह पनि बढेको छ। यसबाट नेपाली काँग्रेसप्रतिको आस्था र विश्वास देउवा समूहमै रहेको पनि उनले दाबी गरे।
‘सुरुमा त हामीमात्रै त थियौं। गजेन्द्र हमाल जी र म मिलेर देउवा समूह नै आधिकारिक काँग्रेस हो र यसैलाई बलियो बनाएर लैजानुपर्छ भनेर हामी लागिरहेका थियौं’ कार्की भन्छन् ‘अहिले मूल घर यही हो भन्ने कुरा बुझेर हाम्रा अग्रज तथा साथीभाइहरू सबै फर्किन थाल्नुभएको छ। यो सकारात्मक कुरा हो। यसले काँग्रेसमा थप उत्साह पनि बढाएको छ।’
बाँकेमा बलियो बन्दै देउवा पक्ष: वर्तमान र पूर्व सांसदहरू एकै ठाउँमा, गगनतिर आएकाहरू पनि फर्किए
चालकबिनै गुड्ने सिड्नीको मेट्रोमा नेपाली भाषा
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, ८ जना जलेर घाइते, दुईजना गम्भिर
डाेल्पामा बाक्लाे हिमपात : हिउँमा हराए ६ जना भारतीय
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप :२४ स्वर्णसहित सगरमाथा क्लब शीर्षस्थानमा
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन