खोपबाट बञ्चित नहुन् भन्नका लागि ‘घरघर जाऔं, खोज र खोप’ अभियान थालेकाछौं : जनस्वास्थ्य निरीक्षक जागेश्वर
नेपालगन्ज २९ फागुन : बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका रहेकाछन् । यी ८ वटै पालिकामा सेवा, सुविधा र साक्षरताका हिसाबमा नेपालगन्ज उपमहानगरपालिका अग्र स्थानमा रहेकोछ । तर, स्वास्थ्य जस्तो गम्भीर सवालमा नेपालगन्ज नगरबासी असंवेदनशील र लापरबाह देखिएकाछन् ।
स्वास्थ्य जस्तो गम्भीर विषयमा नगरबासीको लापरबाही र असंवेदनशीलताको आरोप लाग्दै गर्दा संवद सरोकारवालाहरु पनि उत्तिकै गैरजिम्मेवार हुने गरेको पछिल्ला घटनाले पुष्टि गरिसकेकोछ ।
घटना–१
२०७७ चैत्र मसान्तमा बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो । पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको दुई वर्ष वित्नै लाग्दा गत पुष १२ गते बाँकेका बालबालिकामा दादुरा प्रकोप पाइयो । जिल्लामै सबैभन्दा बढि नेपालगन्ज दादुराको प्रकोप रह्यो । दुखद् दादुराले एक जनाको मृत्यु हुन पुग्यो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो ।
घटना–२
हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्यलाई हेर्दा पनि बाँकेको ८ वटै पालिकामा सबैभन्दा कम कभरेज नेपालगन्जको छ । बाँकेमा ११ औं चरणसम्म दुई थरीका औषधि खुवाइएको थियो । यद्यपी औषधिको कभरेज मात्रा बढ्यो तर, अवस्था ज्यूँका त्यूँ रह्यो । यसमा पनि नेपालगन्ज उपमहानगरपालिका फेल भएको छ । गत वर्ष मात्रै बाँकेमै सबैभन्दा कम नेपालगन्जको ४९ प्रतिशत कभरेज दर रह्यो । यस वर्ष पनि औषधिको कभरेज लक्ष्य अनुसार पुग्न सकेन । अर्थात फागुनको अन्तिम सातासम्म नेपालगन्जको ४८ प्रतिशत मात्र कभरेज दर रह्यो । हाल बाँकेमा हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान आगामी चैत्र १५ गतेसम्मलाई थपिएकोछ ।
स्वास्थ्य सम्बन्धि यी घटनाले नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य महाशाखा, सम्बद्ध सरोकारवाला र नगरबासीप्रति प्रश्न तेर्सिएकोछ । आखिर नेपालगन्जका बालबालिकाले खोप किन लगाउँदैनन् ? औषधि किन खाँदैनन् ? यो प्रश्नको उत्तर खोज्न नेपालगन्जमा घरदैलो सर्वेक्षण थालिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई घरघरमा पठाएर खोप लगाए÷नलगाएको बुझ्ने र खोप लगाएका छैनन् भने लगाउने र उनीहरुलाई यसअघि किन नलगाएको भनेर सोध्न पठाएको छ ।
नगरका २३ वटै वडामा यो अभियान शुरु हुँदैछ । केही वडामा शुरु भइसकेको छ । सरकारले निर्धारण गरेको लक्ष्य पूरा हुने तर, यहाँका रैथाने बालबालिका खोपमा छुटेको पाइएपछि यस्तो अभियान र सर्वेक्षण थालिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।
उपमहानगरपालिकाले १६ देखि ५९ महिनाका बालबालिकाले खोप लगाएको/नलगाएको सर्वेक्षणसँगै खोप लगाउने अभियान थालेको हो । नेपालगन्जलाई गतवर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको छ । पूर्ण खोप घोषणा भएको नेपालगन्जमा हालसालै दादुरा महामारी देखिएको थियो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो ।
आगामी बैशाखमा नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपन घोषणा गरिदैँछ । जनस्वास्थ्य निरीक्षक बस्नेतले भने–‘यो नियमित अभियान हो । हरेक वर्ष हामीले पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नैपर्छ । कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि ‘घरघर जाऔं, खोज र खोप’ अभियान थालेकाछौं ।’
उनले भने–‘यो अभियानमा कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण गरिन थालेको हो ।’ नेपालगन्ज उपमहानगरपालिकाले यो अवधिमा खोप लगाएको वा नलगाएको बुझ्न १६ देखि ५९ महिनाका बालबालिकाको सर्वेक्षण गर्दैछ ।
सोही अभियान अन्र्तगत यतिबेला नगरका विभिन्न वडामा अभिमुखीकरण भइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले फाराम नै दिएर घरघरमा पठाएको छ । यो सर्वेक्षण पछि नेपालगन्जमा कति बालबालिका छन् र कतिले खोप लगाएका छन् भन्ने यकिन हुने उनको भनाई छ । नेपालगन्जमा खोप नै नलगाउने र लगाएका पनि धेरैले बीचैमा छोड्ने गरेको पाइएको छ ।
नेपाल सरकारले दादुरा रुबेला, वीसीजी, जेई, टाइफाइड, पीसीभी, पोलियो, टिडी, डिपिटी हेब्बी हिवलगायतका खोप दिने गर्छ । जन्मदेखि १५ महिनाभित्र यी खोपहरु लगाइन्छ ।
सोमबार वडा नम्बर–१५ मा अभिमुखीकरण गरिएको थियो । जनस्वास्थ्य निरीक्षक तेजबहादुर ओली, विनोद विक, पिप्रहवा स्वास्थ्य चौकीका इन्चार्ज जयराम पाण्डेलगायतले अभिमुखीकरणमा सहजीकरण गरेका थिए ।
थप समाचार
पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ