नेपालगन्जबासीले औषधि खाएनन्, कभरेज दर ५० प्रतिशत पनि पुगेन


नेपालगन्जबासीले औषधि खाएनन्, कभरेज दर ५० प्रतिशत पनि पुगेन

नेपालगन्ज २६ फागुन : नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने समयावधि बढाइने भएको छ । औषधिको कभेरज ५० प्रतिशत नपुगेपछि फागुन मसान्तसम्म सञ्चालन हुने आमऔषधि सेवन अभियानलाई चैत १५ गतेसम्म बढाइने भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । फागुन ११ गतेदेखि अभियान सुरु गरिएको हो ।

गतवर्षको तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत औषधी कभरेज दर थियो । यस वर्ष आम औषधिको कभरेज दर बढाउन कसरत गरिएपनि गत वर्षको तुलनामा घटेर आएकोछ ।

नेपालगन्जमा शुक्रबार आयोजना गरिएको औषधि सेवन कार्यक्रमको प्रारम्भिक समिक्षा बैठकमा सरोकारवालाहरुको सुझाबको आधारमा थप १५ दिन समयाबधि बढाउने निर्णय गरिएको चन्दले जानकारी दिए ।

वडा–वडामा सम्बन्धित वडाका जनप्रतिनिधिको अग्रसरता रहने गरी अघि बढ्ने योजनाका साथ रणनैतिक ढंगले अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष बैठकले निकालेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

औषधि सेवन कार्यक्रमलाई सहयोग पुग्ने गरी गतिविधि हुनुको साटो जानेबुझेकाहरुबाटै अफबाह फैलाउने काम भएको भन्दै त्यसलाई चिरफार गरेर अघि बढ्नुपर्ने सुझाब दिइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भएको बैठकको अध्यक्षता गरेका जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लाका अन्य पालिकाको तुलनामा नेपालगन्जमा निकै कम कभरेज भएकाले आमऔषधि सेवन कार्यक्रमलाई सफल बनाउन आआफ्नो वडामा जनप्रतिनिधि जिम्मेवार ढंगले लाग्नुपर्नेमा जोड दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले औषधि सेवन गरेकाहरुको कार्ड नै बनाएर भरपर्दो तथ्यांक अद्यावधिक गर्न स्वास्थ्य महाशाखालाई निर्देशन दिँदै नेपालगन्जमा हालसम्म प्राप्त तथ्यांक आँखा अगाडि नै औषधि खाएकाहरुको आधिकारिक विवरण भएको बताए ।

उनले अब केही समय लम्ब्याएर भएपनि कभरेज बढाउने रणनीतिका साथ अघि बढ्नुको विकल्प नरहेको भन्दैै सबै जनप्रतिनिधि र सरोकारवाला निकाय र स्वयम् नागरिकहरु यसमा गम्भीर बन्नुपर्ने बताए । औषधि सेवन गर्नेहरु पनि औषधि सेवन नगर्नेहरुका कारण जोखिम रहेको भन्दै उनले आफ्नो स्वास्थ्यप्रति सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

बैठकमा हात्तीपाइले रोग फोकल पर्शन दुर्गा गौतमले नेपालगन्जका केही वडाहरुको कभरेज कहालीलाग्दो रहेको भन्दै सबै गम्भीर बन्नुुपर्ने बताइन् ।

उनले प्रस्तुत गरेको तथ्यांक अनुसार वडा नम्बर ३, ५, ७, ८, ११ र १६ मा ३० प्रतिशत भन्दा कम कभरेज छ । यस्तै २, ४, ६, १२, १९, २०, २१ र २२ मा ५० प्रतिशत कम कभरेज रहेको देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका ४८ प्रतिशत कभरेज छ । बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, कम कभरेज भएका वडाका वडा अध्यक्षहरु, स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बद्रि चापागाईं, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत उपस्थित थिए ।

थप समाचार

नेपालगन्जमा औषधी खुवाउन कठिन, कभरेज दर भेटाउन हम्मे–हम्मे

बाँकेका ६ लाख बढीलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइँदै

थाहा पाउनुहोस्, हात्तीपाइले रोग विरुद्धको औषधि किन खाने ?

हात्तीपाइलेबाट बच्न औषधी खाऔं, कसले नखाने ?