नेपालगन्जको एकीकृत जाँच चौकी निर्माण सुरु भएको एक दशकपछि सञ्चालनमा आयो

आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न कोशेढुङ्गा सावित हुने


नेपालगन्जको एकीकृत जाँच चौकी निर्माण सुरु भएको एक दशकपछि सञ्चालनमा आयो

नेपालगन्ज १८ जेठ : बाँके स्थित नेपाल–भारत सीमानाका जमुनाहमा निर्माण भएको बहुप्रतिक्षित एकीकृत जाँच चौकीको औपचारिक उद्घाटन गरिएकोछ । निर्माण सुरु गरिएको एक दशकपछि भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार एक समारोकाबीच बाँकेको सीमानाका जमुनाहस्थित एकीकृत जाँचचौकी (आइसीपी) को संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारतको नयाँ दिल्लीबाट भर्चुअल माध्यमबाट दुबै देशका प्रधानमन्त्रीले बिहीबार दिउँसो सो एकीकृत जाँचचौकीको उद्घाटन गरे । उद्घाटन गरिए लगत्तै दुबै देशतर्फबाट आयात निर्यातको कार्य सुरु गरेर सो जाँचचौकी सञ्चालनमा आएको छ ।

नेपाल र भारतका सरकारी अधिकारीलगायत विभिन्न नीजि क्षेत्रका अगुवाको उपस्थितिमा सो जाँचचौकीबाट आयात निर्यात शुरु गरिएको हो ।

नेपालतर्फबाट बाँकेका सांसद डाक्टर धवल शमसेर राणा, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेललगायत सुरक्षा निकायका प्रमुखले दुबै देशको झण्डा देखाएर जुडिबुटी बोकेको ट्रकलाई भारततर्फ रवाना गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

सोही प्रकारले भारतको तर्फबाट भारत बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीएम) मोनिका रानी, प्रहरी प्रमुख एसपी प्रशान्त वर्मालगायतले दुबै देशको झण्डा देखाएर पेट्रोलियम र एलपी ग्यास बोकेको ट्याङ्कर तथा प्लाइवुड बोकेको ट्रकलाई नेपालतर्फ रवाना गरे ।

सो एकीकृत जाँच चौकीको निर्माण एक अर्ब ४७ करोड भारतीय रुपियाँको लागतमा सम्पन्न भएको छ । एकीकृत जाँच चौकीभित्र वेयरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर रेस्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण गरिएकोछ । जमुनाहभन्दा पश्चिमतर्फ नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित दशगजाको दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण भएको हो ।

एकीकृत जाँच चौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरेको भए पनि दुवैतर्फको निर्माण कार्य भने अढाइ वर्षअघि मात्रै सुरु भएको थियो । नेपाली पक्षले जग्गा उपलब्ध गराएको छ भने अन्य निर्माणको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षले लिएको थियो ।

सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइपिसी) निर्माणको काम अघि बढेपनि २०७७ साल फागुनबाट मात्रै निर्माण कार्य अघि बढेको हो । सो परियोजनको निर्माण सम्पन्न भएसंगै भन्सार प्रणालीमै आमूल परिवर्तन आउने अपेक्षा गरिएको छ ।

यसअघि वीरगञ्ज र विराटनगरमा निर्मित एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गरी सन् २०१८ अप्रिल र सन् २०२० जनवरीमा संयुक्त रूपमा उद्घाटन भइसकेको छ ।

कोशेढुङ्गा सावित हुने

पछिल्लोपटक कोभिड महामारी र आर्थिक मन्दीका कारण सिर्जित असहज परिस्थितीका कारण एकीकृत जाँच चौकीको निर्माण कार्य प्रभावित बनेको थियो । सो जाँच चौकी निर्माण भएर सञ्चालनमा आएसंगै नेपालगन्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ ।

जाँच चौकीमा मालसामान आयात–निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना भएका छन् । नेपालका लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी नेपाल र भारतको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी कोशेढुङ्गा सावित हुने यहाँका उद्योगी व्यवसायी बताउँछन् ।

जमुनाह नाकामै रहेको भन्सार कार्यालयमा ढुवानीका साधनहरु अटाउने ठाउँ पनि छैन । ठाउँ अभावका कारण ढुवानीका साधनहरु मुख्य सडकमै पार्क गर्ने गरिएका छन् । जसकारण भन्सार जाँच र अुसुलीमा अनेक समस्या र झन्झटहरु आइपर्ने गरेका छन् । अर्कोतिर यात्रु आवतजावत गर्ने र मालसामान बोकेका साधनहरु प्रवेश गर्ने बाटो एउटै हुँदा भन्सार प्रशासनलाई भन्सार असुलीको प्रणाली व्यवस्थित गर्न अप्ठ्यारो भइरहेकोछ ।

नाकामै भन्सार यात्रु कक्ष स्थापना गरेपनि त्यसलाई प्रभावकारी रुपले सञ्चालन गर्न अप्ठ्यारो भइरहेकोछ । चौकी सञ्चालनमा आएपछि मुख्य नाकामा रहेको भन्सार कार्यालय त्यहीँ स्थानान्तरण हुनेछ । सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजस्व चुहावट पनि रोकिने अपेक्षा गरिएको छ ।

आइसिपी निर्माण भएपछि अब व्यापारीले सबै सुविधा एकै ठाउँमा प्राप्त गर्नेछन् । आइसिपी बनेपछि जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रण लगायत कार्यालय रहेकाछन् ।

आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ । यस्तै भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको जिम्मा पाएको छ । आइसिपी सञ्चालनमा आउँदा सामान निकासी र पैठारीमा सहजता आउनेछ ।

थप समाचार

डेढ महिनाभित्र सम्पन्न गर्ने गरी एकीकृत जाँच चौकीको निर्माण तीव्र

एकीकृत भन्सार जाँच चौकी निर्माणको कार्य तिब्र

एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य शुरु