एकीकृत भन्सार जाँच चौकी निर्माणको कार्य तिब्र

६ महिनामा १२ प्रतिशत काम सम्पन्न


एकीकृत भन्सार जाँच चौकी निर्माणको कार्य तिब्र

नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी । तस्विर: निशु जोशी /सेतोखरी

नेपालगन्ज १३ असोज : कोरोना महामारी लगायतका कारण लामो समयदेखि बन्द जस्तै रहेको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्यले तिव्रता लिएकोछ । भारतीय सीमानासँग जोडिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर स्थित उक्त चौकीको निर्माण भइरहेको छ ।

सम्झौताको १५ वर्षसम्म अड्किएर बसेको उक्त परियोजनाको निर्माण कार्य गत वर्षबाट सुरु भएको थियो । भारत सरकारले एक भारतीय कम्पनीसँगै २०७७ सालको फागुन महिनाबाट निर्माणको काम सुरु गरेको हो । आगामी २०७९ जेठ २६ सक्नुपर्ने गरी सम्झौता भएकोमा हालसम्म १२ प्रतिशत मात्रै काम भएको चौकी निर्माणको जिम्मा लिएको कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द नायकले बताए ।

वर्षातको समयमा निर्माण सामग्रीको ढुवानीमा केही समस्या देखिएको भएपनि अहिले धमाधम काम अघि बढेको उनले बताए ।

पारीपट्टी निर्माण भएको भारतीय भन्सार चौकीबाट सिधा नेपालको भन्सारमा सामानहरु आउने उनको भनाई छ । आजभोली पानी पर्दा लोड गरिएको मालवहाक गाडीहरु सडकमा भिज्ने गरेकोमा चौकी निर्माण भएमा यो समस्या पनि समाधान हुने नायकको भनाई छ ।

Kids Festival 2022
kanti aarogya hospital

भारत सरकारको एक अर्ब ४७ करोड भारतीय रुपैयाँ अर्थात् दुई अर्ब ३५ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा सीमाक्षेत्र नजिकै निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आइपिसी) को निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेकोछ ।

सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइपिसी) निर्माणको काम अघि बढेपनि २०७७ साल फागुनबाट मात्रै निर्माण कार्य अघि बढेको हो । सो परियोजनको निर्माण सम्पन्न भएमा भन्सार प्रणालीमै आमूल परिवर्तन आउने अपेक्षा गरिएको छ ।

सहरी विकास तथा भवन कार्यालय नेपालगन्जका इन्जिनियर होमनाथ भुषालले करिब एक महिना अघि गरिएको अनुगमनमा निर्माणको काम सन्तोषजनक रफ्तारमा अघि बढेको पाइएको बताए । उक्त आयोजनाको सम्पूर्ण लागत र निर्माणको जिम्मा भारत सरकारको भएकोले समयमा निर्माण सम्पन्न गर्न भारत सरकारकै कन्सल्टेन्सीले पनि निगरानी गरिरहेको भुषालको भनाइ छ ।

जमुनाह नाकामै रहेको भन्सार कार्यालयमा ढुवानीका साधनहरु अटाउने ठाउँ पनि छैन । ठाउँ अभावका कारण ढुवानीका साधनहरु मुख्य सडकमै पार्क गर्ने गरिएका छन् । जसकारण भन्सार जाँच र अुसुलीमा अनेक समस्या र झन्झटहरु आइपर्ने गरेका छन् ।

अर्कोतिर यात्रु आवतजावत गर्ने र मालसामान बोकेका साधनहरु प्रवेश गर्ने बाटो एउटै हुँदा भन्सार प्रशासनलाई भन्सार असुलीको प्रणाली व्यवस्थित गर्न अप्ठ्यारो भइरहेको नेपालगन्ज भन्सार प्रमुख जयबहादुर भण्डारी बताउँछन् । नाकामै भन्सार यात्रु कक्ष स्थापना गरेपनि त्यसलाई प्रभावकारी रुपले सञ्चालन गर्न अप्ठ्यारो भइरहेको नेपालगन्ज भन्सार प्रमुख भण्डारीको भनाइ छ ।

चौकी सञ्चालनमा आएपछि मुख्य नाकामा रहेको भन्सार कार्यालय त्यहीँ स्थानान्तरण हुनेछ । सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजस्व चुहावट पनि रोकिने अपेक्षा गरिएको छ । आइसिपीदेखि झण्डै तीन किलोमिटर सडकमा ग्राभेलको काम करिब सम्पन्न भइसकेको देख्न सकिन्छ ।

आइसिपी निर्माण भएपछि व्यापारीले सबै सुविधा एकै ठाउँमा प्राप्त गर्नेछन् । आइसिपी बनेपछि जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रण लगायत कार्यालय रहनेछन् ।

आइसिपी निर्माणका लागि सरकारले ९०.८० बिघा जग्गा अधिग्रहण गरेको थियो । भारततर्फ ०७५ माघ १ गते तत्कालीन केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आईसीपीको उद्घाटन गरेका थिए । त्यसको दुई वर्षपछि नेपालतर्फ शीलान्याश गरिएको थियो ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारत सरकारका वाणिज्य मन्त्री पीयूष गोयलले संयुक्त रूपमा भिडियो कन्फ्रेन्समार्फत आईसीपीको शीलन्याश गरेका थिए । निर्माण कार्यको गुणस्तर निर्धारण भारतकै हातमा छ । नेपालतर्फ आइपर्ने अबरोधका लागि सहजीकरणको भूमिका नेपालले गर्दै आएको छ । निर्माण सामाग्री आयात गर्दा कुनै शुल्क नलाग्ने समेत सहमति गरिएको छ ।

आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ । यस्तै भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको जिम्मा पाएको छ । आइसिपी सञ्चालनमा आउँदा सामान निकासी र पैठारीमा सहजता आउने नेपाल उद्योग वाणिज्य महासङ्घका पुर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।