डेढ महिनाभित्र सम्पन्न गर्ने गरी एकीकृत जाँच चौकीको निर्माण तीव्र


डेढ महिनाभित्र सम्पन्न गर्ने गरी एकीकृत जाँच चौकीको निर्माण तीव्र

नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी । फाईल तस्विर

नेपालगन्ज २३ वैशाख : बाँके स्थित नेपाल–भारत सीमानाका जमुनाहमा निर्माणाधीन एकीकृत जाँच चौकीको काम तीव्र रूपमा अघि बढेको छ । यही मे महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि अबको डेढ महिनाभित्र निर्माण कार्य पूरा हुने जानकारी भारतीय पक्षले नेपाली पक्षलाई गराएको छ ।

एकीकृत जाँच चौकीभित्र वेयरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर रेस्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य धमाधम भइरहेको छ । जमुनाहभन्दा पश्चिमतर्फ नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित दशगजाको दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण भइरहेको छ ।

एकीकृत जाँच चौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरेको भए पनि दुवैतर्फको निर्माण कार्य भने अढाइ वर्षअघि मात्रै सुरु भएको हो । नेपाली पक्षले जग्गा उपलब्ध गराएको छ भने अन्य निर्माणको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षको रहेको छ ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । कार्यालय प्रमुख खनालले भने, ‘नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले निर्माण कार्य गर्ने हो । लगानी, प्राविधिक पाटो र निर्माण व्यवसायी भारतले नै छनोट गरेको हो । नेपालमा बन्न लागेकाले हामीले निर्माणको अवस्थाबारे जानकारी मात्रै लिने गरेका छौँ ।’

Kids Festival 2022
kanti aarogya hospital

सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइपिसी) निर्माणको काम अघि बढेपनि २०७७ साल फागुनबाट मात्रै निर्माण कार्य अघि बढेको हो । सो परियोजनको निर्माण सम्पन्न भएमा भन्सार प्रणालीमै आमूल परिवर्तन आउने अपेक्षा गरिएको छ ।

यसअघि वीरगञ्ज र विराटनगरमा निर्मित एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गरी सन् २०१८ अप्रिल र सन् २०२० जनवरीमा संयुक्त रूपमा उद्घाटन भइसकेको छ ।

कोशेढुङ्गा सावित हुने

पछिल्लोपटक कोभिड महामारीका कारण सिर्जित असहज परिस्थितीका कारण एकीकृत जाँच चौकीको निर्माण कार्य प्रभावित बनेको थियो । सो जाँच चौकी निर्माण भएमा नेपालगन्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । जाँच चौकीमा मालसामान आयात–निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुनेछ ।

नेपालका लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी नेपाल र भारतको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न निर्माण हुन लागेको एकीकृत भन्सार जाँच चौकी कोशेढुङ्गा सावित हुने यहाँका उद्योगी व्यवसायी बताउँछन् ।

जमुनाह नाकामै रहेको भन्सार कार्यालयमा ढुवानीका साधनहरु अटाउने ठाउँ पनि छैन । ठाउँ अभावका कारण ढुवानीका साधनहरु मुख्य सडकमै पार्क गर्ने गरिएका छन् । जसकारण भन्सार जाँच र अुसुलीमा अनेक समस्या र झन्झटहरु आइपर्ने गरेका छन् । अर्कोतिर यात्रु आवतजावत गर्ने र मालसामान बोकेका साधनहरु प्रवेश गर्ने बाटो एउटै हुँदा भन्सार प्रशासनलाई भन्सार असुलीको प्रणाली व्यवस्थित गर्न अप्ठ्यारो भइरहेकोछ ।

नाकामै भन्सार यात्रु कक्ष स्थापना गरेपनि त्यसलाई प्रभावकारी रुपले सञ्चालन गर्न अप्ठ्यारो भइरहेकोछ । चौकी सञ्चालनमा आएपछि मुख्य नाकामा रहेको भन्सार कार्यालय त्यहीँ स्थानान्तरण हुनेछ । सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजस्व चुहावट पनि रोकिने अपेक्षा गरिएको छ ।

आइसिपी निर्माण भएपछि व्यापारीले सबै सुविधा एकै ठाउँमा प्राप्त गर्नेछन् । आइसिपी बनेपछि जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रण लगायत कार्यालय रहनेछन् ।

आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ । यस्तै भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको जिम्मा पाएको छ । आइसिपी सञ्चालनमा आउँदा सामान निकासी र पैठारीमा सहजता आउनेछ ।

थप समाचार

एकीकृत भन्सार जाँच चौकी निर्माणको कार्य तिब्र

एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य शुरु