एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य शुरु


एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य शुरु

नेपालगन्ज : झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य शुरु भएको छ । भारतीय सीमानासँग जोडिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर स्थित उक्त चौकीको निर्माण हुन लागेको हो ।

भारत र नेपालबीच भएको सम्झौता बमोजिम जयसपुरमा बहुप्रतीक्षित एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य शुरु भएकोछ । जाँचचौकी निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमिन अधिग्रहण गरिसकेको छ । अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने र बाँकी २४ विघा जग्गा बाटोका लागि छुट्याइएको छ ।

भारततर्फ भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ भने नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम भइरहेको छ । निर्माण अन्तर्गत अहिले पूर्वाधार निर्माणका लागि कामदार र डोजर, टिपर २४ सैँ घण्टा सञ्चालन भइरहेका छन् ।

सो जाँच चौकी निर्माण भएमा नेपालगन्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । जाँच चौकीमा मालसामान आयात–निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुने नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालका लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न निर्माण हुन लागेको एकीकृत भन्सार जाँच चौकी कोशेढुङ्गा सावित हुने उनले विश्वास ब्यक्त गरे ।

आयोजना कार्यान्वयन एकाइ नेपालगन्जका इञ्जिनीयर होमनाथ भुसालका अनुसार, नेपालले सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख गरिएको छ ।

जाँच चौकी निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्फबाट हुने सम्झौता भएको जनाइएको छ । इञ्जिनीयर भुसालले जाँच चौकी निर्माणका लागि झण्डै रु एक अर्ब ३६ करोड (भारतीय रुपैयाँ) छुट्याइएको छ ।