गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्री सिंहसहित तीनको निधन


गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्री सिंहसहित तीनको निधन

नेपालगन्ज ५ असार : बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उपचारको क्रममा उनको निधन भएको हो ।

सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती ५० वर्षीय अमृतादेवी सिंह र ६० वर्षीय भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

नेपाली सेनाको हेलिकप्टरद्वारा ल्याइएका घाईतेको अस्पतालका निमित्त निर्देशक प्रा. ढुण्डीराज पौडेलको नेतृत्वको टिम खटेको थियो । मङ्गलबार बेलुका ४ बजेर ५८ मिनेटमा अस्पताल पु¥याइएका मन्त्रीसहित दुई जना अन्यको गम्भीर अवस्था रहेको अस्पतालले जनाएकोछ ।

अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएका मन्त्री सिंहको शरीरमा नाबीको चाल थिएन भने मुटुको धड्कनले पनि काम गर्न छोडिसकेको अवस्था थियो ।

Kids Festival 2022
kanti aarogya hospital

उपचारमा खटेको निमित्त निर्देशक प्रा. पौडेलसहित डाक्टरको टोलीले मन्त्रीको उपचारका लागि सिपिआर, डिसी सक लगायत कृतिम श्वासप्रश्वास इन्टुबेसन सम्म गरेको थियो । यति गर्दा पनि शरीरमा जिवित लक्षणहरु नदेखिएपछि अस्पतालले ५ बजेर ३३ मिनेटमा चिकित्सकले मन्त्री सहिंलाई मृत घोषणा गरेको अस्पतालको प्रेस विज्ञप्तीमा उल्लेखछ ।

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगन्ज ल्याइएको थियो । सिंहसँगै नेपालगन्ज ल्याएका चालक ३५ वर्षीय धर्मराज जोशी र ३५ वर्षीय सुरक्षागार्ड (पीएसओ) सहायक हवल्दार दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु प प्र ०१००१ झ ४८० नम्बरको गाडीमा मन्त्री सिंह सहित ५ जना सवार थिए । गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालङगा नदीको किनारमा खसेको थियो ।

नेपाली काँग्रेस बझाङका सचिव उत्तमबहादुर रोकायाका अनुसार मन्त्री सिंह पारिवारिक पूजापाठका लागि बझाङ आइरहेका थिए । मन्त्री सिंहको गृहजिल्लाको हो, बझाङ ।

मष्टा गाउँपालिकाको धरान मष्टामाडौंमा पुजाका लागि परिवारसहित जाने क्रममा उनी सवार गाडी दुर्घटनामा परेको थियो । सोमबार नै धनगढीबाट डडेल्धुरा पुगेका उनीहरू मंगलबार बझाङतर्फ गइरहेका थिए ।
धनगढीबाट मन्त्री सिंहसंगै उनका छोरा अभिषेक पनि जाँदै थिए । उनी मन्त्री सवार गाडीको पछाडि अर्को गाडीमा सवार थिए ।

स्कर्टिङमा रहेको प्रहरी र अर्को गाडीमा रहेका अभिषेक सहितको टोलीले दुर्घटनाग्रस्त गाडीबाट मन्त्री सहित सबै घाइतेको उद्धार गरेका थिए । ‘धरान मष्टामाडौंमा पारिवारिक पुजाको कार्यक्रम थियो, त्यसकै लागि आउँदा गाडी दुर्घटना भयो,’ सचिव रोकयाले भने, ‘यो दुःखद् घटनाले सिंगो सुदूरपश्चिम शोकमग्न छ ।’