नेपालगन्ज : नेपाली काँग्रसका वरीष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको दुईतिहाइ सरकारले मुलुकको वर्तमान समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन् ।
काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिका लागि आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षणका लागि सुर्खेत जान बुधबार बाँकेको कोहलपुर आएका नेता पौडेलले यस्तो बताएका हुन् ।
वरीष्ठ नेता पौडेलले जिल्लाका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँगको भेटमा बोल्दै अघि थपे ‘यो या त्यो बहानाले देशको समस्या समाधान हुदैन ।’ वर्तमान सरकारको रवैयाका कारण आजित भएका नेपाली जनतालाई निकास र विकास दिने काँग्रेसको आवश्यता रहेको उनले बताए ।
उनले भने नेपाली जनतालाई काँग्रेसको आवश्यकता छ । यस्तो कठिन परिस्थितीमा काँग्रेसीहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने औलाएका छन् । बिहीबार विहान उनी विरेन्द्रनगर सुर्खेत जाने बताइएकोछ ।
यसैबीच, प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका लागि बुधबार नै नेपाली काँग्रेसका शीर्ष नेता कृष्ण सिटौला, केन्द्रिय सदस्य दलबहादुर केसी कोहलपुरमा पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई भेटेर सुर्खेत गएको नेपाली काँगे्रस बाँकेका सचिव तप्त पौडेलले बताए ।
दुई दिनसम्म चल्ने सो प्रशिक्षणका लागि कर्णाली प्रदेशका जिल्लाका महाधिवेशन प्रतिनिधि अधिकाश बुधबार नै सुर्खेत आइपुगेका छन् ।
पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा काँग्रेसले तीनवटा प्रदेशमा प्रशिक्षण दिन लागेको हो ।
काँग्रेसले पहिलो चरणमा गण्डकी, कर्णाली र प्रदेश ५ मा प्रशिक्षण दिइदैछ । साउन ३१ र ३२ गते गण्डकी प्रदेशको प्रशिक्षण कास्कीको पोखरामा, भदौ २ र ३ गते प्रदेश ५ को भैरहवामा भइसकेकोछ भने भदौ ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रशिक्षण हुन लागेको हो ।
पार्टीको सांगठनिक संरचना, विधान र त्यसका विशेषता, राजनीतिक, आर्थिक दृष्टिकोणका साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको कामका विषयमा छलफल हुने काँग्रेसले जनाएको छ ।