नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनले आफ्ना मागतत्काल पूरा नगरिए क्याम्पस विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
क्याम्पसमा रहेका चार विद्यार्थी संगठनले बिहीबार क्याम्पस प्रशासन समक्ष विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै क्याम्पसमा रहेका चार विद्यार्थी संगठनले शैक्षिक क्यालेण्डर अनुसार नियमित पठनपाठनको व्यवस्था हुनुपर्ने, विभिन्न संकाय अन्तर्गत्का कार्यक्रमहरुमा मनोमानी ढंगले शुल्क बृद्धि भएकाले बैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने माग राखेका छन् ।
सेमेष्टेर कार्यक्रममा अपारदर्शी ढंगले वितरण गरिएका छात्रबृत्तिलाई खारेज गरी त्रिभुवन विश्वविद्यालयको नियम अनुसार पारदर्शी ढंगले वितरण गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको कोषको वितरण सार्वजनिक गर्नुपर्ने, सेमेष्टर कार्यक्रमहरुको आय ब्यय सार्वजनिक गर्नुपर्ने र कर्मचारी अभावका कारण विद्यार्थीका नियमित कार्यक्रम प्रभावित हुँदै आएकाले आवश्यक कर्मचारीको व्यवस्था गर्न माग गरेका छन् ।
क्याम्पक इकाईका अनेरास्ववियु सचिव प्रकाश विक, नेविसंघ अध्यक्ष चन्द्र प्रकाश देवकोटा, अखिल क्रान्तिकारीका उपाध्यक्ष धुब जोशी र समाजवादी विद्यार्थी युनियनका प्रतिनिधि संगम पोख्रेलले संयुक्त विज्ञप्ती जारी गरेर क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।