नेपालगन्ज १ साउन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री छनोटमा पार्टीका सबै शक्ति केन्द्र (गुट)लाई भाग दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसले १० जना मन्त्री पठाएकोछ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले यसपटक सबै गुटको चित्त बुझ्ने गरी निर्णय लिए । यसले काँग्रेसले पाएका १० मन्त्रालयमा पार्टीका सात शक्ति केन्द्रबीच भागबण्डा भएको देखिन्छ ।
२०७९ चैतमा प्रचण्ड सरकारमा ९ मन्त्री पठाउँदा देउवाले शेखर कोइरालालाई मात्र भाग दिएका थिए । मन्त्री छनोटमा भाग नपाएपछि महामन्त्री थापा, प्रकाशमान सिंह, शशांक कोइराला लगायतले नेताहरू सभापति देउवासँग रुष्ट थिए ।
गत असार १७ मा काँग्रेस र एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि मन्त्रीको दौडमा आफ्नो निवास बुढानीलकण्ठ पुग्ने नेतालाई देउवाले ‘सबैलाई मिलाएर लैजाने’ बचन दिएका थिए ।
काँग्रेस सभापति देउवा निकट–३ जना, नेता शेखर कोइरालाको कोटामा–२ जना, महामन्त्री गगन थापाको–१ जना, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र शशांक कोइरालालाई १–१ जना, उपसभापति पूर्णबहादुर खड्कालाई–१ जना र राष्ट्रपति रामचन्द्र पौडेलको कोटामा–१ जनालाई देउवाले पार्टीबाट सरकारमा पठाएका छन् ।
देउवा समूहबाट गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमन्त्रीमा डाक्टर आरजु राणा देउवा, कानूनमन्त्री अजय चौरसियाले अवसर पाएका छन् । सभापति देउवाले आफ्ना विश्वास पात्र, संसदीय दलका प्रमुख सचेतक तथा पार्टीको केन्द्रिय कार्यसम्पादन समिति सदस्य लेखकलाई शक्तिशाली मानिने गृह मन्त्रालयमा पठाएका छन् ।
काँग्रेस केन्द्रिय सदस्यसमेत रहेकी आफ्नी पत्नी डाक्टर आरजुलाई परराष्ट्र मन्त्री बनाउँदा मधेसबाट चौरसियाले कानूनमन्त्री बन्ने अवसर पाए । देउवाले मन्त्रीका लागि धेरै सांसदलाई बचन दिएको भएपनि अन्तिममा लेखक, राणा र चौरसियालाई रोजे ।
यस्तै शेखर कोइरालाले पर्यटनमन्त्रीमा बद्री पाण्डे र कृषि मन्त्रीमा रामनाथ अधिकारीलाई बनाउँदा प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन महामन्त्री थापा सफल भए । देउवाले शेखर–गगन समूहलाई चार मन्त्रीको भाग छुट्याएका थिए । उक्त समूहमा मन्त्री छनोटका लागि लामो रस्साकसीपछि पाण्डे, अधिकारी र पौडेलले अवसर पाए ।
शेखर–गगन समूहमा जीवन परियार, चन्द्र भण्डारी, हृदयराम थानी, सञ्जय गौतम, रामकृष्ण यादव, सरिता प्रसाईँ लगायतबिच मन्त्रीका लागि जोडबल थियो । शेखर कोइरालाले अधिकारी, थानी र प्रसाईलाई मन्त्री बनाउने ईच्छा राखेका थिए ।
शेखर–गगन समूहका नाममा मन्त्री बनेका तेजुलाल चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले इच्छाएको व्यक्ति भएको काँग्रेसमा चर्चा छ । यसअघि राष्ट्रपति पौडेलको कोटाबाट सुरेन्द्र आचार्य मन्त्री बनेजस्तै यसपटक चौधरीले मौका पाएको देखिन्छ ।
यता पूर्वमहामन्त्री सिंह आफैँ पार्टीको नेतृत्व गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री बनेर ओली सरकारमा सहभागी हुँदा अर्का पूर्वमहामन्त्री शशांक कोइरालाले दीपक खड्कालाई ऊर्जा मन्त्री बनाए ।
काँग्रेसमा नयाँ गुटको अभ्यास गरिरहेका उपसभापति पूर्णबहादुर खड्काले ऐनबहादुर शाही ठकुरीलाई वनमन्त्री बनाएर आफ्नो कोटा सुरक्षित पारेका छन् ।
काँग्रेसले दलित समुदायका साथै गण्डकी र लुम्बिनी प्रदेशबाट एक जनालाई पनि मन्त्री बनाएन । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्री नियुक्त गर्न बाँकी छ ।
रुकुमपश्चिम दुर्घटनास् दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा