डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी

नेपालगन्ज। डोल्पा जिल्ला कारागारबाट सुरुङबाट भागेका थप दुईजना कैदीहरूलाई प्रहरीले भेटाएको छ। उनिहरुलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन्। उनीहरू लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- ६ दामाचौरस्थित खोलीबगरबाट वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका दुवै जना पनि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।

योसँगै डोल्पा कारागारबाट फरार भएका ८ जनामध्ये छ जना पक्राउ परिसकेका छन्। यसअघि पनि त्रिपुरासुन्दरी नगरपालिका-४ रंगगाउँबाटै त्रिपुरासुन्दरी नगरपालिका-७ का कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका-९ का कैलाश भन्ने कपिल परियार पक्राउ परेका थिए।

त्यसअघि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना पनि पक्राउ परेका थिए। उनीहरूलाई गत मंगलबार बिहान पक्राउ गरिएको हो। 

अझै नभेटिएका कैदीहरूमध्ये चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का तिलक भण्डारी र वडा नम्बर-३ का आदेश भण्डारी छन्।
गत कात्तिक १४ गते राति जिल्ला कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए। उनीहरूको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरिरहेको छ।