बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार

नेपालगन्ज।

यत्रो पढेलेखेका केटाहरूले नि फूल रोपेर बस्ने…?

फूल बेचेर नि पैसो कमाइन्छ कहिँ…?

यिनिहरू त डुब्ने भए…!

यस्तै यस्तै प्रश्नहरूले मनमै घोच्थ्यो सुरु सुरुमा। साथीसर्कलले गर्ने खिसिट्यूरीदेखि आफूले मोलेको खोजिम सम्झिदाँ यी युवाहरूलाई अहिले लाग्छ ‘गरेपछि नहुने के रहेछ र…!’

बाँकेमा कलेज पढ्दै गरेका तीन युवाले गरेको फूलखेतीको लोभलाग्दो सफलता अहिले चर्चाको विषय बनेको छ। जति उनिहरूको चर्चा छ त्योभन्दा धेरै अहिले नेपाली बजारमै फूलको माग धान्नै धौ-धौ परिरहेको छ। 

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन्।

फिट फार्म कम्पनी बनाएर उनिहरूले गरिरहेको फूलखेती अहिले पूर्णरुपमा ब्यावसायिक भइसकेको छ। कृषि क्षेत्रमा किताबी ज्ञानमा मात्र सीमित नभई व्यावहारिक तथा व्यावसायिक रूपमा केही गर्नुपर्छ भन्ने दूरदृष्टिका साथ बाँकेमा नयाँ व्यावसायिक अभ्यासको थालनी गरिएको उनिहरूले बताएका छन्।  

यो व्यावसायिक यात्रालाई मूर्तरूप दिन अशिम सिग्देललाई उनका समर्पित सहकर्मीहरू वेदराज आचार्य र चेतन केसीले उत्तिकै बलियो साथ दिएका छन्। टिमका यी सदस्यहरूको आपसी समन्वय र कडा परिश्रमले गर्दा फर्मको व्यवस्थापन, उत्पादन र बजार प्रवर्द्धनको कार्य व्यवस्थित रूपमा अघि बढेको छ। सामूहिक प्रयास र स्पष्ट रणनीतिको बलमा सञ्चालित यो फार्मले स्थानीय स्तरमा सामूहिक कृषिको उत्कृष्ट नमुना पेस गरेको छ।

यस अभियानका मुख्य चालकरहका रूपमा उभिनुभएका अशिम सिग्देलले आफ्नो प्राविधिक र वैज्ञानिक ज्ञानलाई खेतबारीमा उतार्दै उच्च गुणस्तरको उत्पादन सुनिश्चित गरेका छन् । माटोको वैज्ञानिक परीक्षण, उन्नत जातका बीउ छनोट, र प्रभावकारी रोगव्याधि व्यवस्थापनमा अशिम सिग्देलको सक्रिय नेतृत्व र प्राविधिक दक्षताले गर्दा यो फर्मले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ। पढेलेखेका सक्षम युवाहरू कृषि उद्यममा लागेमा उत्पादनको गुणस्तर र बजार व्यवस्थापन कसरी व्यावसायिक बन्छ। 

नेपालका चाडपर्वहरूमा परम्परागत रूपमा हुने विदेशी फूलको अत्यधिक निर्भरतालाई न्यूनीकरण गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने मुख्य कर्पोरेट रणनीतिसहित यो खेती गरिएको हो । अशिम सिग्देलको अगुवाइ र टिमको सहकार्यमा सञ्चालित यस ‘फिट फार्म’ले स्थानीय बजारको मागलाई गहिरिएर विश्लेषण गरी ताजा, सफा र सुलभ मूल्यका सयपत्री फूल तथा मालाहरू उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसले आयातित वस्तुमाथिको निर्भरता घटाउनुका साथै स्थानीय उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याएको छ।

कृषि क्षेत्रलाई सम्मानित र नाफामूलक उद्योगका रूपमा विकास गर्न सकिन्छ भन्ने अठोटका साथ अगाडि बढेका अशिम सिग्देल र उनको टिमको यो पहलले नयाँ पुस्ताका लागि मार्गप्रशस्त गरेको छ। पढेलेखेका दक्ष जनशक्ति व्यावसायिक कृषिमा जोडिनुले समग्र कृषिक्षेत्रको छविमा सकारात्मक परिवर्तन ल्याएको छ।

नेपालगञ्ज उपमहानगरपालिका- १९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई भएको बेदराज आचार्य बताउँछन्। ‘हालसम्म करिब ७ क्विन्टल फूल बिक्री गरिसक्यौँ, अझै त्यत्ति नै बाँकी होला’ उनले भने ‘चार सय रुपैयाँ प्रतिकिलोका दरले फार्मबाटै फूल बिक्री गरेका छौँ, अहिलेसम्म दुई लाख जतिको बिक्री भइसक्यो।’ 

यसपालि तिहार खर्च फूलखेतीबाटै जोहो भएको अर्का सञ्चालक असिम सिग्देलले बताए। सानो मेहनत र लगानीले नै ठूलो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उनले बताए। तिहारअघि नै करिब रु दुई लाख बराबरको फूल बिक्री भएको जानकारी दिँदै उनले स्थानीयले अग्रिम बुकिङ गरेको बताए। त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
बाँके जिल्लामा यो वर्ष करिब १३ बिगाह क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ। बाँकेको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुरमा किसानले व्यावसायिक रुपमा फूलखेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताए।

उनका अनुसार, बाँकेमा यो वर्ष करिब १३ बिगाहा क्षेत्रफलमा फूलखेती भएको छ। जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती गरिएको छ। भारतीय फूल आयातमा रोक लगाए फूलखेती गरेका किसानले राम्रो आम्दानी गर्नेछन्।

तिहार नजिकिँदै गर्दा किसानले नेपालगञ्जको त्रिभुवनचोक, धम्बोझीचोक लगायतका क्षेत्रमा फुटकर रुपमा फूलको बिक्री वितरण गरिरहेको चर्तीमगरले बताए।  राससको सहयोगमा