अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर


सेतोखरी सेतोखरी   ६ घण्टा अगाडि
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर

नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिकाले आफ्नै कार्यालयबाट अब स्थायी लेखा नम्बर (प्यान नं) उपलब्ध गराउने भएको छ। 

आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज, कोहलपुर उद्योग वाणिज्य सङ्घ र कोहलपुर नगरपालिकाबीच सम्झौता भएपछि कोहलपुरका व्यवसायी तथा व्यक्तिहरूले समेत त्यहीँबाट प्यान नम्बर पाउने भएका हुन्। 

यो सम्झौता र कोहलपुर नगरपालिकाको सेवारम्भ पछि नेपालगन्जमा रहेको आन्तरिक राजस्व कार्यालय धाउने बाध्यता हटेको छ। नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुर क्षेत्रका व्यवसायीहरूलाई प्यान दर्ता प्रक्रियामा सहजता ल्याउने उद्देश्यले यो सम्झौता गरिएको बताए। 

‘अहिलेसम्म कोहलपुरबाट नेपालगन्ज पुगेर प्यान नं ल्याउनेपर्ने अवस्था थियो। यसबाट व्यवसायी तथा व्यक्तिहरूलाई समेत झन्झटिलो र असजिलो महसुस हुँदै आएको थियो’ उनले भने ‘अबका दिनमा त्यो काम सहज हुने भएको छ। खासगरी कोहलपुरमा ब्यवसाय सञ्चालन गर्न चाहनेहरूलाई स्थानीय तहले नै उपलब्ध गराउने भएपछि धेरै सहज हुनेछ।’ 

उनले राजमार्गसँग जोडिएको र विस्तारै उद्योग कलकारखानाहरू समेत बढ्दै जान थालेपछि कोहलपुरमा सहरीकरणलाई व्यवस्थित र सहज बनाउनका लागि यो सेवा लाभदायक हुने विश्वास पनि व्यक्त गरे।

स्थानीय तहमै सेवा उपलब्ध हुन थालेपछि कोहलपुर क्षेत्रका व्यवसायीलाई प्यान दर्ता प्रक्रिया थप सहज र सरल हुने विश्वास लिइएको कोहलपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।