अस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी


सेतोखरी सेतोखरी   शुक्रबार, साउन ११, २०८१
अस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी

झापा ११ साउनः नेपाली लोकसंगीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । 

झापाको दमक नगरपालिका–१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस भएका उनको उपचारका क्रममा लाइफलाइन अस्पतालमा निधन भएको हो ।

वि.सं. १९९३ मा धनकुटा बजारमा जन्मिएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । 

उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’लगायत दर्जनौँ कालजयी गीत गाएका थिए । पूर्वेली लोकभाकामा उनी गीत गाउँथे । ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड गरिएको थियो ।

उनी चित्रकार र अभिनेता पनि थिए । चलचित्र ‘हिजो आज भोलि’मा उनले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गरेका थिए । उनले नौ चलचित्रमा अभिनय गरेका थिए ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले लोकगायक एलपी जोशीको निधन नेपाली लोकसंगीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताए । ‘उहाँ घाँसदाउरा गर्ने भुइँमान्छेहरूको भावना टपक्कै टिपेर संगीतको लयमा ढाल्नुहुन्थ्यो,’ खरेलले शोक वक्तव्य जारी गरेर भनेका छन् ।

वि.सं. २०१३ मा उनको पहिलो गीत ‘नेपालको माया..’ रेडियो नेपालमा रेकर्ड गरिएको थियो । नेपाली मौलिक गीतहरूको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरू घुमेका र नेपाली लोकसंगीतको भण्डारलाई समृद्ध बनाउन योगदान पु¥याएका उनलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो ।

वि.सं. २०५३ मा म्युजिक नेपालबाट उनको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा ल्याइएको थियो । -रासस