नेपालगन्ज। सरकारले भिक्षुणी गायिका आनी छोइङ डोल्पालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि स्थानीयले त्यसको विरोध गर्दै आएका छन्। लुम्बिनी बचाउ महाअभियानले उनको नियुक्तिको निर्णय सरकारले तत्काल नसच्याए दसैंलगत्तै चरणवद्ध आन्दोलनको चेतावनी दिइसकेको छ।
उनको नियुक्तिलगत्तै महाअभियानले लुम्बिनीस्थित उपाध्यक्षको कार्यालयमा कालो ब्यानर टाँसेर धर्नासमेत दिएको थियो। त्यस्तै अभियानले काठमाडौंमा समेत पत्रकार सम्मेलन गर्दै सरकारलाई नियुक्ति सच्याउन अल्टिमेटम दिइसकेको छ। उपाध्यक्षको नियुक्ति बदर नगरे कात्तिक ९ गतेदेखि आन्दोलनमा उत्रिने महाअभियानले चेतावनी दिइसकेको छ।
आनीको नियुक्तिबारे अहिले सामाजिक सञ्जालमा पनि चर्चा चलिरहेको छ। उनको नियुक्तिको विषयबारे पक्ष–विपक्षमा बहस चर्किएको छ। खासगरी नागरिकता तथा सम्पत्ति सुद्धिकरणको मुद्दा विचाराधीन रहेको भन्दै उनलाई विवादमा तानिएको छ।
तर आनीले भने यस्तो विरोधबाट आफू कत्ति पनि बिचलित नभएको भन्दै जसरी भए पनि आफूले पाएको जिम्मेवारी पूरा गरेरै छोड्ने बताएकी छिन्। गत असोज ३० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेलको सिफारिसमा मन्त्रिपरिषद बैठकले उनलाई लुम्बिनी बिकास कोषको उपाध्यमा नियुक्त गरेको हो।
हाल भइरहेको विरोधहरुका बारेमा मन्त्रालय केही बोलेको छैन।
आनीले एउटा समाचार एजेन्सीलाई यसबारे प्रतिक्रिया दिएकी छिन् र आफ्ना निजी मामिलाहरूका बारेमा समेत सार्वजनिकरुपमा चर्चा भइरहे पनि आफू नअत्तालिएको बताएकी छिन्।
‘म सत्कर्ममा विश्वास गर्छु। म भाग्यमानी पनि छु। किनकि मसँग गुरूको आशीर्वाद छ र सत्कर्ममा विश्वास छ। कहिलेकाहिं यस्ता अफ्ठयाराहरू आइपर्छन्। भगवान वुद्धलाई पनि उक्त स्थानमा अवसर दिएको खण्डमा आलोचना हुन्थ्यो होला, हाम्रो समाज नै त्यस्तै छ’ उनले भनेकी छिन् ‘तर म विचलित भएको छैन। सरकारले गरेको विश्वासप्रति आभारी छु,’ उनले भनिन्, ‘सम्पत्ति शुद्धिकरणको विषय सन् २०१८ को अन्त्यतिर नै क्लियर भएको हो। सरकारले पनि मेरोबारेमा राम्रोसँग बुझेरै विश्वास गरेको होला। मैले सरकारलाई भेटेर नियुक्ति पाउनुपरो भनेर निवेदन दिएको होइन, कसैलाई भनेको पनि छैन तर विश्वास गर्नुभएको छ। यो त मेरो सत्कर्मको फल होला नि।’
आफू डाँडामा बसेर आनन्दको जीवन जिउने सोचिरहेकाबेला सरकारले एउटा पवित्र संस्थालाई अझै राम्रो गर्नुपर्यो भनेर आफूलाई अवसर दिएको उल्लेख गर्दै सरकारप्रति सम्मान रहेको प्रतिक्रिया दिइन्।
‘म पद माग्दै सरकारकहाँ गएको होइन। निवेदन दिएको पनि होइन। तर तपाईंले जिम्मेवारी लिइदिनुपर्यो भन्दा स्वीकारेको हुँ, उहाँहरूको त्यो चोखो नियतलाई सम्मान गरेको हुँ,’ उनले स्पष्ट पारिन्।
विगतमा लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्नका लागि ठूलो पैसाको चलखेल हुने गरेको आफूले सुन्दै आएको बताएकी उनले पैसाका नाममा संस्थालाई बदनाम गर्न नहुने पनि बताइन्।
‘मेरो योजना डाँडामा कुटी बनाएर आनन्दको जीवन विताउने थियो। तर विश्वास गरेर सम्मानजनक पदमा अवसर दिनुभएको छ। विश्वास गर्नुभएको छ, त्यसलाई मैंले अपमान वा अस्वीकार गर्न कसरी मिल्ला र? मैंले पनि त्यहाँ बसेर काम गर्दा विश्वभरका बौद्धमार्गीहरूलाई भेट्ने वा बुद्ध जन्मिएको देशलाई केही गर्न पाउँछु भन्ने लागेको हो। जसले जति नै विरोध गरे पनि म जिम्मेवारीबाट पछि हट्ने मान्छे होइनँ। टाउकोले टेकेर भए पनि पाएको जिम्मेवारी पूरा गर्नेछु’ उनले भनिन्।
सम्बन्धित विभागीय मन्त्री आफै अध्यक्ष र प्रधानमन्त्री संरक्षक रहने यो कोषमा उपाध्यक्ष पद कार्यकारी प्रशासकीय पद हो। खर्बौंको बजेट रहेको यो कोषमा समग्र लुम्बिनी क्षेत्रको स्थायी विकासका लागि गुरुयोजनाअनुसार कामहरू गर्नुपर्ने छ। बुद्धको जन्मस्थल लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पनि हो।