काठमाडौं: झण्डै दुई साता लामो उपचार पछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैंछन् । मिर्गौलाको उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।
सिंगापुरमा मिर्गौलाको उपचार गरि स्वास्थ्यमा सुधार भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्किन लागेका हुन् । उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरबेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए ।
स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीका साथ स्वदेश फर्कनेछन् ।
मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए । नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो ।
सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वेदश फर्किन लागेका हुन् ।
प्रधानमन्त्रीको साथमा उनकी पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै सिंगापुरबाट फर्किइसकेका छन् ।
उपचारकै क्रममा सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषदका सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए ।
उक्त टेलिप्रिजेन्स प्रविधिमाफर्त गरिएको मन्त्रिपरिषद्का सदस्यसँगको छलफलको सामाजिक सञ्जालमा टिकाटिप्पणी समेत गरिएको थियो ।