तस्विर: कमल न्यौपाने /सेतोखरी
बबई (बर्दिया) :बिहीबार बर्दियाको बर्गदा गाउँमा सन्नाटा छाएको थियो । गाउँका आम नागरिकको मन रोएको थियो । चट्टान जस्तै धर्ती फाटेको थियो ।
नदुखेको आकाश पीडा सहन नसकि दुखेको थियो । कारुणीक रोदनभित्र मर्मसपर्शी सत्यताले आन्तरिक पीडा दिएको थियो । जिल्लाकै अग्रणी शैक्षिक संस्था चुरे माध्यामिक विद्यालय, बगनाहाका पूर्वशिक्षक राममणी शर्मा अधिकारीको बुधबार राती निधन भएको थियो । ठाकुरबाबा नगरपालिका–४, बर्गदा निवासी शर्मा अधिकारीको उपचारका क्रममा ७४ वर्षको उमेरमा बुधबार राती निधन भएको हो ।
बिहीबार बिहान बबई नदीमा अन्त्येष्टि गरिएको छ । अन्तेष्टि गर्न उनको निवासादेखि बबई खोलासम्म लैजादा बाटोका सारा बनस्पति, रुख विरुवा समेत ओईलाएका थिए । झोक्राएका थिए । बबईनदीको किनार तापमय थियो । बालुवामा खुट्टा राख्ने अवस्था थिएन् । नदीपनि पीडामा चुुर्लुम्म डुबे झै धमिलो बगिरहेको थियो । बिहीबार विहान आकाश पनि रोएको थियो । राममणी शर्माको पार्थीव शरिर राखिएको बबई नदी किनार आसपासको आकाश कालोनीलो भएको थियो ।
सायद, आकाश रोएकै देखर होला केहीबेर थोपा–थोपाको गतिमा राममणी सरको पार्थीव शरीरमा भगवानका आखाँबाट आशुपनि बलिन्द्रधारा झँै चुहिएका थिए ।
दाहसंस्कारका लागि शर्माको पार्थीव शरीर बबई किनारमा थियो । विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद पौड्याल कोही आफन्तसँग मोबाईलमा भलाकुसारी गर्दै ‘राममणी सर अलविदा हुनु भो हामी घाटमा छौ ।’ भनिरहेका थिए ।
राममणी सरका उत्तराधिकारी संजिव र विजय एक कुनामा बसेर पार्थीव शरीर निहाली रहेका थिए । दुखेको मन सम्हाल्दै राममणी सरका भाई धर्मराज अधिकारी लगायतका आफन्त र मलामीहरुका आखाँबाट बबईको भेल झँै अश्रुधारा बगिरहेका थिए । बबई नदीको किनारकै गम्भीर देखिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार समिति सदस्यसमेत रहेका स्वर्गीय राममणी शर्माको शवमा पार्टीको झण्डा ओढाएपश्चात अन्त्येष्टि गरिएको थियो ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, चुरे माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेश यादव, पूर्व प्रधानाध्यापक कृष्णप्रसाद पौड्याल उनका शुभचिन्तक, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी दीलबहादुर कठायत, पोलिटब्यूरो सदस्य भुपेन्द्र न्यौपाने, केन्द्रिय सल्लाहकार समिति सदस्य कृष्ण भट्टराई, कालिकोट जिल्ला सेक्रेटरी कमलराज रोकाय लगायतका नेता तथा कार्यकता बबई नदी किनार जहाँ राममणी सरको पार्थीव शरीर दाहसंस्कारका लागि राखिएको थियो त्यहाँ सहभागी थिए ।
२००३ साल असोज ६ गते प्यूठानको सल्लीबेसी नयाँगाउँमा जन्मिएका शर्मा २०२६ सालतिर बर्दिया बसाइँ सरी आएका थिए । २०२९ सालमा शिक्षक भएका राममणी शर्माले जोगीगाउँको विद्यालयबाट सरुवा भई २०३५ सालदेखि बगनाहाको चुरे माध्यामिक विद्यालयमा पढाउन सुरु गरेको चुरे माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा चुरे क्याम्पस बगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्याल बताउँछन् ।
चुरे मावि बगनाहाबाट २०६३ सालमा शिक्षक पेशाबाट अवकाश लिएका राममणी शर्मा बर्गदा गाउँकै मात्रै होईन बर्दिया जिल्लाकै अभिभावक जस्तै थिए । स्वर्गीय राममणी दाई आफ्नो अभिभावकजस्तै हुनुहुन्थ्यो पौड्यालले भने ‘पेशाबाट हेर्दा निकै मिहिनेती र ईमान्दार शिक्षक हुनुहुन्थ्यो,’ उनलाई आफ्नो अभिभावक र आर्दश व्यक्तिका रुपमा सम्झिँदै चुरे माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा चुरे क्याम्पस बगनाहाका क्याम्पस प्रमुख पौड्याल लगायतले बबई किनारमै श्रद्धाञ्जली प्रकट गरेका थिए ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले भने ‘आदरणीय गुरु स्वर्गीय राममणी सर निष्ठा, ईमान्दारिता र कर्तव्यको एउटा प्रेरणादायी अभिभावक हुनहुन्थ्यो, उहाँ आर्दशको बाटोमा हिँडे, कर्तव्यको पथमा लम्किन मार्गनिर्देश गर्नुभयो ।’
२०३१ सालको चौथो महाधिवेशनमा नेकपाको सदस्य लिएका स्वर्गीय शर्मा २०३५ सालमा पार्टीको बर्दिया सचिवसमेत बनेका थिए । २०२९ सालमा जमिन्दारको विरोधमा भएको थुमैई काण्ड उनको नेतृत्वमा भएको थियो । पञ्चायतकालमा उनले झण्डै एक वर्ष जेल जीवन बिताएका थिए । त्यतिबेला कुटपिटबाट उनको मेरुदण्ड समेत भाँचिएको थियो ।
संकटकालका बेला विद्यालय हाताबाटै पक्राउ गरी लैजाने कामसमेत भएको उनका शिक्षक साथीहरु विगतलाई सम्झिन्छन् । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण भेरी अस्पतालमा भेट्न जाँदा शर्माले भनेका थिए ‘तपाईँहरु जसरी मलाई भेट्न यहाँ आउनुहुन्छ, त्यो समयमा जनतालाई भेट्न जानुस् जनताको साथ कहिल्यै नछाड्नुस् ।’
तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बर्दियाको भुरिगाउँमा आउँदा उनकै घरमा भेट्न गएका बेला पनि स्वर्गीय शर्माले पार्टी संशोधनबाद दिशातर्फ अघि बढेको छ, यसलाई सच्चिएर अघि बढ्न सुझाव दिएका थिए ।
पार्टीमा लामो संघर्ष र परिश्रम गरेका राममणीले कहिल्यै लाभको पद नखोजेको र आम नेता कार्यकर्तालाई जनताको हितमा सक्रिय हुन निर्देश गर्दै आएको पुर्व सभामुख ओनसरी घर्ती बताउँछिन् । शर्माको निधनले नेपालमा कम्यूनिष्टहरुले एउटा होनाहार, ईमान्दार कुशल शैक्षिक बैद्धिक व्यक्तित्व गुमाएको पुर्व सभामुख घर्तीको बुझाई छ ।
सादा जिवन उच्च विचारका हिमायती राममणी सरको पार्थिव शरीरमाथि श्रद्धाका फुल चढाउँदै स्वर्गीय राममणी शर्माप्रति हार्दिक श्रद्धा सुमन ।