लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत

दोस्रो कार्यकालका लागि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो सत्ता सुरक्षित गरेका छन्। सोमबार प्रदेशसभाको बैठकमा उनले विश्वासको मत मागेका थिए। 

नयाँ सत्ता साझेदार नेकपा(प्रचण्ड नेतृत्व)सँगै उनलाई अरु दुई दलले पनि समर्थन गरे। यद्यपि जनता समाजवादी पार्टीले विश्वासको मत नदिन निर्देशन जारी गरेको थियो। तर प्रदेशका सांसदहरूले पार्टीको केन्द्रीय निर्देशनलाई लत्याएर आचर्यको पक्षमा मत दिए।

सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।

मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए।

विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरे। 

प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए। हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहेका थिए।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन्। 

कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलहरूको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाए। 

यसअघि नेपाली काँग्रेससँगको साझेदारीमा उनि मुख्यमन्त्री नियुक्त भएका थिए। तर आलोपालोकाव समय सकिए पनि उनले सत्ता नेपाली काँग्रेसलाई दिएनन्। त्यहीबीचमा पार्टीको केन्द्रमै एमाले र नेकपाले प्रदेश सत्ताको बाँडफाटको सहमति गरे। अनि फेरि आचार्य यहाँ दोहोरिएका हुन्।