महाकालीले छिन्यो सुदूरपश्चिमको एउटा इतिहास


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
महाकालीले छिन्यो सुदूरपश्चिमको एउटा इतिहास

नेपालगन्ज। कञ्चनपुरको महाकालीपारि रहेको दोधारा(चाँदनीलाई बाँकी नेपालसँग जोडेको एउटा ऐतिहासिक पुल महाकालीको बाढीमा बगेको छ। यो एशियाकै दोस्रो लामो झोलुङ्गे पुलमात्रै थिएन, महाकालीपारि रहेको नेपालको एकमात्रै टुक्रा भू-भागलाई सिङ्गो बाँकी नेपालसँग जोड्ने एउटा स्वाभिमान पनि थियो। जसले भारतीय भूमि पार गरेर फेरि आफ्नै देशको भूमिमा टेक्नुपर्ने बाध्यता टारेको थियो। 

त्यो मात्रै नभएर यो पुल सुदूरपश्चिमको एउटा सुन्दर पहिचान पनि थियो। जति यहाँका स्थानीय यो पुलबाट आउजाउ गर्थे त्योभन्दा धेरै यो पुल नै हेर्नका लागि देशभरिका पर्यटकहरू त्यहाँ जम्मा हुन्थे।

महाकाली नदीमा केही दिनदेखि निरन्तर बाढी आइरहेको छ। यस्तो अवस्थामा नदीबीचमा रहेका पुलका पिलरहरू कमजोर भइरहेका थिए। त्यसैबीचमा बुधबार बिहान पुलको एउटा पिलर बाढीले भाँचिदियो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका(१३ अर्थात् महेन्द्रनगरतिरबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको भाग भाँचिएको हो। केहि दिनअघि देखि पुलको एउटा भाग अस्वभाविकरुपमा माथि उठेको देखिएपछि प्रहरीले पुलमा आउजाउ बन्द गरेको थियो। र त्यसको मर्मतको तयारी चलिरहेको थियो। यहीबीचमा पुलको बीचको आधा भाग नै नदीले लग्यो। 

२०५६ सालतिरै निर्माण भएको डेढकिलोमिटर लामो यो झोलुङ्गे पुल बन्नुअघि दोधारा चाँदनीका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगरलगायतका नेपाली भूभागमै छिर्नका लागि पनि भारतीय भूमि भएर आउजाउ गर्नुपर्ने बाध्यता थियो। पुल बनेपछि यो क्षेत्रका नागरिकलाई र अरु नेपालीको आवागमनमा मात्रै होइन सिङ्गो दोधारा चाँदनीका नागरिकको शिक्षा, स्वास्थ्य र सामाजिक सम्बन्धको जीवनमै ठूलो परिवर्तन ल्याएको थियो। 

यद्यपि यहाँ एउटा चारलेनको नयाँ पक्की पुल पनि निर्माण भइसकेको छ। तर एउटा इतिहास र पैदल यहाँका नागरिकको जीवनशैलीसँगै जोडिएको यो पुलको आफ्नै ऐतिहासिक महत्व छ।