नेपालगन्ज। धार्मिक अनि सामाजिक अन्तरसम्बन्धले अत्यन्तै संवेदनशील जिल्ला हो बाँके। विभिन्न धार्मिक समुदायको मिश्रित अनि बाक्लो बस्ती भएको यो जिल्लामा अन्तर धार्मिक समुदायबीच हुने दंगा र झडपहरू चाडपर्वका बेला भइ नै रहन्थे।
तर यसपालि भने अलि फरक भयो। सधैंजस्तै हिन्दु समुदायले विभिन्न ठाउँमा स्थापना गरेका दुर्गा भवानीको मूर्ति नदीमा बिसर्जन गरिन्छ। हिन्दु धर्मावलम्बीहरूको भीडभाड अनि डिजेको चर्को आवाजले गाउँसहर नै थर्कमान हुन्थे। त्यसमै पनि अर्को धार्मिक समुदायको बसोबास भएको क्षेत्रबाट त्यसरी धार्मिक जुलुस गर्दा त्यहाँ झडपका सम्भावनाहरू प्रशस्तै हुन्थे।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अंगुर जिसीका लागि यो पालिको दसैंमा शान्तिपूर्वक देवी बिसर्जन गर्नु निकै चुनौतीपूर्ण लागेको थियो। अघिल्लो वर्ष यसैबेला उनि सरुवा भएर त्यहाँ पुगेका थिए। त्यो वर्ष पनि केही ठाउँमा अन्तरधार्मिक समुदायको झडप भएको थियो। त्यही भएर यसपालि उनि अलि पहिलादेखि नै चनाखो भइरहेका थिए।
‘अघिल्लो वर्ष पनि यस्तै भएको थियो। भर्खरै जिल्लामा आएको थिएँ। देवी बिसर्जन गर्ने बेलामा केही ठाउँमा झडप भइ त हाल्यो। त्यसैले पनि यसपालि पहिलादेखि नै हामीले यसलाई कसरी शान्तिपूर्ण बनाउन सकिन्छ भनेर योजना बनाइरहेका थियौं’ यसपालिको देवी बिसर्जन निकै शान्तिपूर्ण र सौहार्द भएपछि सन्तुष्ट देखिएका प्रहरी प्रमुख जिसीले सेतोखरीसँग भने ‘हामीले पहिलादेखि नै भित्रभित्रै योजना बनाइरहेका थियौं। गाउँगाउँमा गएर दुर्गापूजाका समितिका मान्छेसँग हाम्रा प्रहरीहरूले भेट्ने, कुरा गर्ने अनि उहाँहरूलाई सम्झाउने बुझाउने गरेका थिए। साथै अर्को धार्मिक समुदायसँग पनि हामी निरन्तर सम्पर्क र संवादमै थियौं।’
नवदुर्गाभरि पूजा गर्नेगरी दसैंका बेला बस्तीबस्तीमा दुर्गापूजा आयोजना गरिएका हुन्छन्। दसैंको टीकापछि देवीका मूर्तिहरूलाई निकै भव्यसँग खोला या नदीमा बिसर्जन गर्ने परम्परागत संस्कार छ। यस्तो बेलामा तराई-मधेसतिर ठूलठूलो आवाजमा डिजे बजाएर धूमधाम गर्ने चलन छ। त्यसले गर्दा अर्को धार्मिक समुदाय भड्किनसक्छ र धार्मिक हिंसा हुनसक्छ।
यो सम्भावनालाई राम्रोसँग बुझेका प्रहरी प्रखुम जिसीले त्यसअघि नै सबै धार्मिक समुदायका अगुवा तथा धार्मिक गुरुहरूसँग छलफल र परामर्श गरेका थिए। सबै ठाउँका दुर्गापूजा समितिहरूसँग समन्वय र सम्पर्क बढाउँदै उनले यसपालि डिजे नबजाउने र होहल्ला नगर्नेगरी वातावरण मिलाएका थिए। त्यस्तै झडप हुनसक्ने सम्भावित स्थानमा प्रहरीको बाक्लो उपस्थितिसँग शूक्ष्म निगरानी पनि बढाएका थिए। सहरका चोकचोकमा प्रहरीको बाक्लो परिचालन थियो। ड्रोनबाट समेत सुरक्षा निगरानी गरिएको थियो। यस्तो बेलामा कतै कतै घरेलु हतियारसहित देवी बिसर्जन गर्न जाने चलन पनि हुन्छ। तर यसपालि प्रहरीले ती हतियारहरू निकाल्नै दिएन।
‘सम्भावित घटना हुनसक्ने ठाउँहरू पहिचान गरेर हामीले पहिला नै प्रहरी तैनाथ गरिसकेका थियौं। केही ठाउँमा यसपालि पनि हतियार झिक्न लागेको थाहा पाएर हामीले उनिहरूलाई पहिला नै सचेत गरायौं। डिजे बजाउनै दिएनौं। सानो आवाजमा धार्मिक गीत संगीत त सामान्य भइहाल्यो’ उनि भन्छन् ‘डिजे नबज्ने र होहल्ला नहुने भएपछि यसपालि मान्छेहरूको भीडभाड पनि पहिलाजस्तो भएन। तर निकै शान्तिपूर्ण र सौहार्दपूर्ण भयो।’
उनका अनुसार यो प्रयासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको संयुक्त टोलीले अपनाएको चुस्त सुरक्षा रणनीतिले काम गरे हो। चाडपर्वका बेला हुन सक्ने सम्भावित उच्छृङ्खल गतिविधि रोक्न र शान्ति-सुरक्षा चुस्त राख्न स्थानीय प्रशासनले एकीकृत सुरक्षा योजना तयार पारेको थियो।
सोही योजनाअनुसार जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अंगुर जिसीको प्रत्यक्ष कमान्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली संयुक्त रूपमा फिल्डमा खटिएको थियो। दसैंभर संवेदनशील चोक, बजार क्षेत्र तथा नदी किनारहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो।
प्रहरीका अनुसार जुलुसको व्यवस्थापन र सुरक्षा स्थिति नियन्त्रणमा राख्न एसपी जिसीसहित सुरक्षा निकायका उच्च कमान्डरहरू स्वयं मुख्य-मुख्य स्थानमा खटिएका थिए। विशेष गरी दुर्गा मूर्ति विसर्जनका क्रममा हुन सक्ने सम्भावित मुठभेड वा सामाजिक सद्भाव भड्काउने प्रयासहरूलाई निस्तेज पार्न सुरक्षा निकायले प्रविधिको उच्च प्रयोग गरेको थियो। जुलुस निकालिएका मुख्य मार्गहरूमा आकाशबाट ड्रोन क्यामरामार्फत नियमित अनुगमन गर्नुका साथै सिसीटिभी मार्फत सूक्ष्म निगरानी गरिएको थियो भने बहुआयामिक परिचालन सम्भावित जोखिम न्यूनीकरणका लागि पैदल गस्ती, मोबाइल गस्ती तथा सादा पोसाकमा गुप्तचर टोलीले गरी कडा पहरा दिएको जनाइएको छ।
हिन्दु र मुस्लिम धर्मावलम्बीबीच धार्मिक द्धन्द्ध निम्तिने गरेको बाँकेमा साम्प्रदायिक सद्भाव कायम राख्नु ठूलो चुनौती मानिन्छ। यसलाई ध्यानमा राख्दै सुरक्षा निकायले पूर्वतयारीस्वरूप विभिन्न धर्मगुरु नागरिक समाज स्थानीय अगुवा र पूजा व्यवस्थापन समितिसँग निरन्तर संवाद, समन्वय र अन्तरक्रिया गरेको थियो।
पर्व भव्यताका साथ सकिएसँगै यहाँका सर्वसाधारण, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका अगुवाहरूले सुरक्षा निकायको भूमिकाको खुलेर प्रशंसा गरेका छन्। अहोरात्र खटिएर जिल्लाको शान्ति-सुरक्षालाई मजबुत बनाएको भन्दै एसपी अंगुर जिसीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली नागरिक स्तरबाट बधाई र प्रशंसाको हकदार बनेको स्थानीयको भनाइ छ।
दसैंअघि इस्लाम समुदायको मोहम्मद डे तथा मुहर्रम जस्ता पर्वहरूमा पनि जिसीले ठूलो आवाजमा समुदायलाई नै प्रभाव पार्नेगरी बजाइने डिजेहरू बन्द गराएका थिए।
हालैमात्र नेपाल प्रहरीको स्थापना दिवसमा ‘पूर्ण शान्ति पुरस्कार’बाट सम्मानित भएका प्रहरी प्रमुख जिसी भन्छन् ‘यसपालि सम्भावित खतराहरूलाई रोक्न सक्यौं त्यो नै सन्तोषको कुरा हो। सबैले सबै धर्मको सम्मान गर्न सक्यौं भने सबैले सबै पर्व भव्य र सभ्य तरिकाले मनाउन सकिन्छ। यो कुरा समाजले नै बुझ्नुपर्छ। समाजका अगुवाहरूले पनि बुझाउन सक्नुपर्छ।’
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’
बाटोमा खेलिरहेका थिए छ वर्षीय बालक, ढुङ्गाले हानेर हत्या !
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’