सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ 

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले आफ्नै सरकारका प्रधानमन्त्रीमाथि गम्भिर प्रश्नहरू उठाएका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली, उनको सचिवालय र सल्लाहकारप्रति गम्भिर टिप्पणी गरेका हुन्। खासगरी उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति आक्रोश साँधेका हुन्। 

‘उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होइन होला। सरकारका केन्द्र मैले सिंहदरबार हुन्छ मैले बुझेको छु। तर सरकारका केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिराछ’ भारतीय जासुसी संस्थाको निमन्त्रणामा कुमार बेन भारत भ्रमण गरेको देखि सरकारी कमर्चारीहरूको हुर्मत लिएको विषयसम्म जोड्दै अमरेशले भने ‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्। त्यहाँ दिल्लीको लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्। देवानन्दको गाइड फिल्म जस्तै यो सरकार चलिरहेको छ । एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ।’  

सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाउँदै उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको भन्दै चर्को आक्रोश पनि पोखे। 

‘संविधान अनुसार सरकार चलिरहेको छैन। हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ। चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ। सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ’ उनले भने ‘हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ। तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ। यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन।’  

त्यस्तै उनले सम्पत्ति सुद्धिकरणका महानिर्देशकलाई रातिमा बोलाएर उनलाई अनावश्यकरुपमा धम्क्याइएको आरोप पनि लगाए। 

‘गौरीकुमारी यादवले त्यही दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन रातमा प्रहरी परिचालन गरिएको थियो। प्रधानमन्त्रीलाई मन्त्रीको काम चित्त बुझेन भने बर्खास्त गर्ने अधिकार छ, तर मन्त्रीलाई पक्राउ गर्न सचिवालयले प्रहरी परिचालन गर्नेरु यो सुनेर म झस्किन्छु कि म कुन देशको सांसद हुँरु’ उनले भनेका छन् ‘शुद्धीकरणको डीजीलाई बोलाएर राति एक बजे बोलाएर कन्चटमा पेस्तोल भिराइन्छ। म त्यो घटनाको पनि चर्चा गर्न चाहन्न, कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ।’