दाङ। लुम्बिनी प्रदेश सरकारले यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ। प्रदेश सरकारले असोज २ र ३ गते सरसफाइ, राष्ट्रिय झण्डा सजावट तथा दीप प्रज्वलनलगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ। बैठकले असोज २ गते प्रदेशस्थित सबै सरकारी निकायले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेश राजधानी परिसरको सरसफाइको समन्वय आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले गर्नेछ। सोही दिन प्रदेशस्थित सरकारी निकायमा निर्धारित आकारका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी कार्यालय सजाउने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ।
प्रदेशवासीलाई पनि आ–आफ्नो घरमा दीप प्रज्वलन गर्न अनुरोध गर्ने निर्णय भएको छ। असोज ३ गते पनि सरकारी निकायमा राष्ट्रिय झण्डा राख्ने, कार्यालय सजाउने र साँझ दीप प्रज्वलन गरिनेछ। जिल्लास्थित सरकारी कार्यालयले जिल्लामा आयोजना गरिएको संविधान दिवससम्बन्धी कार्यक्रममा अनिवार्य सहभागिता जनाउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ। प्रदेश सरकारले संविधान दिवसलाई राष्ट्रिय एकता, संविधानप्रतिको सम्मान र नागरिक सहभागितासहित मनाउन थालेको हो।