काठमाडौं। बिहीबार सानेपास्थित नेपाली काँग्रेस पार्टी कार्यालयको माहोल अलि फरक थियो। नेताहरू ‘जय नेपाल’ भन्दै एकअर्कालाई अंगालो हालिरहेका थिए। पार्टी कार्यालयको सभाहलमा उपस्थित भएका नेताहरू देखेपछि सभापति गगन थापा पनि दंग परे।
नौ महिनापछि कैयौ नेताहरू फेरि सानेपा फर्किएका थिए। त्यसअघि थापा नेतृत्वको काँग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरूलाई सोहि हैसियत दिनेगरी निर्णय गर्दै १५ औं महाधिवेशनमा सामेल हुन अपिल गरेका थिए। त्यसपछि उनले केन्द्रीय समितिको बैठक बोलाए। बिहीबारको केन्द्रीय समितिको बैठकमा पूर्वसभापति शेरबहादुर देउवातिर रहेका लगभग ३५ जना केन्द्रीय सदस्यहरू सामेल भएका थिए।
यो दृश्यसँगै अलिअलि भावुक भएका सभापति थापा शनिबारदेखि १५ औं महाधिवेशनका प्रारम्भिक चरणहरू सुरुवात हुनेमा ढुक्कजस्तै देखिन्थे। उनले फर्की आएका केन्द्रीय सदस्यहरूलाई स्वागत गरे। अनि त्यही उत्साहमा उनले ‘पूर्वसभापतिको हैसियतमा शनिबारदेखिका महाधिवेशनहरू उद्घाटन गरिदिन’ भन्दै देउवालाई पनि सार्वजनिक अपिल गरे।
सानेपा छोडेर नौ महिनादेखि समानान्तर गतिविधि गरिरहेका देउवा समूहमा अब लगभग त्यो बेलाका केन्द्रीय पदाधिकारीहरू कोही पनि छैनन्। ३५ जना केन्द्रिय सदस्यहरू एकैपटक सानेपा छिरेपछि संस्थापन समूहभित्र ठूलो उत्साह बढेको छ। तत्कालीन सहमहामन्त्री महालक्ष्मी उपाध्याय, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे र मीनबहादुर विश्वकर्मालगायतका नेताहरू अब विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमै फर्किएका छन्। यी देउवा समूहका प्रभावशाली नेताहरूका रुपमा चिनिन्छन्।
समानान्तर महाधिवेशन घोषणा गरेका देउवा समूहमा अब उक्त महाधिवेशनका लागि संयोजक बनाइएका डा। शशांक कोइराला प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, एनपी साउद, मोहनबहादुर बस्नेत र दीपक कुइँकेलगायतमात्रै छन्।
शेखर कोइरालाले ‘एकता नभए’ दुबै महाधिवेशनमा सहभागी नहुने घोषणा गरिसकेका छन्। उनका निकट मानिएका मिनेन्द्र रिजाल, धनराज गुरुङ, दीपक गिरी, कृष्णचन्द्र नेपालीलगायतका नेताहरू सानेपालाई स्विकार गर्दै महाधिवेशनको तयारीमा जुटिसकेका छन्।
देउवा समूहको अडान अझै बाँकी
समानान्तर महाधिवेशनका लागि अन्तिम तयारी गरिरहेका बेला पूर्ववत नेताहरू संस्थापनतिर लाग्न थाले पनि देउवा समूहमै रहेका केही नेताहरूले फेरि संवाद थाल्न अपिल गरेका छन्। समानान्तर महाधिवेशन घोषणा भएपछि देउवा समूहबाट अलग भएका तर सानेपातिर पनि नलागेका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले थापालाई यस्तो अपिल गरेका हुन्।
‘समय बलबान हुन्छ। पुनः कठोर संकल्प गर्नुस्। असोज ३ गते देखि प्रारम्भ गर्ने गरी घोषणा गरेको १५औं महाधिवेशनको कार्यतालिका स्थगन गरी केही समयको लागि सार्नुस्’ उनले भनेका छन् ‘तपाईंले पार्टीमा आज गर्नु भएको निर्णयको बलियो जगमा पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित निर्वाचित सभापति आदरणीय शीर्ष नेता शेरबहादुर देउवा ज्यू अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता र संवाद तत्काल प्रारम्भ गर्नुस्, मलाई आत्मविश्वास छ। पार्टीको पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ।’
दुईवटै महाधिवेशन भएमा नेपाली काँग्रेसको विभाजन कसैलाई रोक्न नसक्ने भन्दै उनले नेपाली काँग्रेसपछि अरु पार्टीहरू पनि फुट्ने वा फुटाउने तयारी भएको पनि बताएका छन्।
‘अन्यथा २ वटा अलग अलग महाधिवेशन रोकिएनन् भने काँग्रेस पार्टीको बिभाजन कसैले रोक्नसक्ने छैन’ उनले भनेका छन् ‘मेरो अन्तरमनले भन्छ काँग्रेस पार्टीको बिभाजनको केही महिना भित्र नेकपा एमाले, नेपाली कम्युनस्ट पार्टी लगायत बिशेषगरि संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेका दलहरु बिभाजन हुनेछन्, गरिने छन्।’
त्यस्तै अर्का नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र परम्परालाई लत्याएर गरिने कुनै पनि गतिविधि मान्य नहुने बताएका छन्।
२९ औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र विधिको शासन र आन्तरिक लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए। पार्टीभित्र देखिएको पछिल्लो विवाद र महाधिवेशनका सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेस विधान र संविधानको दायराभित्रै रहेर अघि बढ्नुपर्नेमा जोड दिए। १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै विधिसम्मत रूपमा १५ औँ महाधिवेशन गराउनुपर्ने उनको अडान छ।
‘नेपाली कांग्रेस पार्टी विधिको शासन स्थापित गर्नका लागि जन्मिएको हो, तर पार्टीभित्रै विधिको शासनलाई तोडमोड गर्दा चुप लागेर बस्न सकिँदैन,’ नेता सिंहले भने, ‘विधानलाई मिचेर जबर्जस्ती विशेष महाधिवेशन गरी अघि बढ्न खोज्नु गलत हो। यस्ता अलोकतान्त्रिक अभ्यासले पार्टीभित्र अधिनायकवाद जन्माउँछ।’
यहीबीचमा सभापति थापाले फेरि पनि पार्टीलाई एक बनाउने संकल्प गरेका छन्।
नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै थापाले सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरेका छन्।
‘हामी १५ औँ महाधिवेशनको यात्रामा छौं। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो’ उनले भनेका छन् ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्।
तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ।’
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
५ घण्टा अगाडि
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?