काँग्रेस १५ औं महाधिवेशन

बाँकेमा दुई कांग्रेस आमने-सामने


सेतोखरी सेतोखरी   १६ मिनेट अगाडि
बाँकेमा दुई कांग्रेस आमने-सामने

बाँके। औपचारिकरुपमा अलग भएर समानान्तर महाधिवेशन घोषणा गरे पनि नेपाली काँग्रेसका स्थानीय तहका अधिवेशनमा भने संस्थापन र देउवा समूह अलगअलग प्यानलै बनाएर होमिएका छन्। 

गत पुसमा विशेष महाधिवेशन आह्वान गरेर गगन थापा नेपाली काँग्रेसको सभापति भएपछि तत्कालीन सभापति शेरबहादुर देउवा समूह अलग भएर समानान्तर गतिविधि गर्दै आएको थियो। निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतले समेत त्यही विशेष महाधिवेशनलाई मान्यता दिएपछि अब सर्वोच्चमा त्यसको पुनरावलोकन मात्रै बाँकी छ। 

यहीबीचमा संस्थापन पक्षले (गगन थापा)ले यही १५औं महाधिवेशन घोषणा गरिसकेका छन्। त्यसका प्रारम्भिक चरणहरू असोज ३ गतेबाट सुरु भइसकेका छन्। वडाहरूको अधिवेशन सकिएपछि आज देशभरिका पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो।

केन्द्रमा विभाजति भएर छुट्टाछुट्टै महाधिवेशन घोषणा भए पनि (देउवा समूहको मंसिर २१ मा) स्थानीय तहको अधिवेशनहरूमा भने लगभग दुई समूहकै टक्कर देखिएको छ। यसबीच आज पालिकास्तरको महाधिवेशनका लागि बाँकेको कोहलपुर नगर नेतृत्वका लागि दुई समूह (देउवा समूह र गगन समूह) आआफ्नो प्यानल बनाएर महाधिवेशनमा होमिएका छन्। सुरु भएकाे याे महाधिवेशनका हरेक तहका अधिवेशनहरूमा देउवा-काेइराला समूह पनि एक भएर गगन समूहविरुद्ध प्यानलै बनाएर खडा भएका छन्। 

आज हुने नगर अधिवेशनका लागि कोहलपुर नगरपालिकामा गगन समूहका तर्फबाट वीरेन्द्रकुमार शाहको सभापतित्वमा समूह बनेको छ। त्यसको उपसभामा दीपेन्द्रकुमार चौधरी, महिला उपसभापतिमा सुभद्रा शर्मा, सचिवमा सचिनकुमार शर्मा र सहसचिवमा रामबहादुर वलीलगायतका पदाधिकारीहरू नेतृत्वका लागि कस्तिएका छन्। 

त्यस्तै देउवा समूह निकट मानिने चिन्तामणि धिताल आफ्नो सभापतित्वमा समूह नै खडा गरेर अधिवशेनमा होमिएका छन्। उनको समूहबाट उपसभापतिमा सविता चौधरी, भरत शर्मा, सचितमा दीपेन्द्र कठायत र सहसचिवका लागि ओमजंङ शाही महाधिवेशनमा उत्रिएका छन्। 

जिल्लामा देउवा समूह निकट मानिने क्षेत्र नं १ का क्षेत्रीय सभापति पोषण केसी, पूर्व क्षेत्रीय सभापति माधव केसीलगायतका नेताहरू खुलेर महाधिवेशनमा लागिसकेका छन् भने जिल्ला सभापति नारायण गौडेल तथा कोहलपुरका नगरपालिकाका मेयर पूर्ण आचार्यलगायतका नेताहरू गगन समूहमा खुलेका छन्।