सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए

नेपालगन्ज। यात्रु बोकेर काठमाडौंबाट खोटाङ जाँदै गरेको एउटा टाटासुमो जीप सुनकोसी नदीमा खसेको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटासुमो गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन्। 

आइतबार बिहान करिब साढे २ बजे को.१ ज २९७६ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार दुर्घटनास्थलबाट तीन महिलाको शव फेला परेको छ। मृतक महिलाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ओखलढुंगाका २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक घाइते भएका छन्। घाइतेमध्ये सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ।

चालकको भनाइअनुसार दुर्घटनापछि थप तीन जना बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले बेपत्ताहरूको खोजी कार्य जारी राखेको जनाएको छ।