मुगुमा सडक खनिरहेका बेला पहिरो खस्यो, एक्साभेटरसँगै चालक पुरिए अर्का घाइते


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
मुगुमा सडक खनिरहेका बेला पहिरो खस्यो, एक्साभेटरसँगै चालक पुरिए अर्का घाइते

नेपालगन्ज। मुगुको खत्याडमा बाटो खन्दै गरेको एक्साभेटर र त्यसका चालक पुरिएका छन्। खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्साभेटर र त्यसका चालक पुरिएका छन् भने सह–चालक घाइते भएका छन्। 

खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा मुगु–रारा भित्री सडक खण्डको बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा सोमबार बिहान करिब ८स्३० बजे माथिबाट एक्कासी सुक्खा पहिरो खसेको थियो।

पहिरोमा परी बा ३ क ३२७६ नम्बरको एक्साभेटर र त्यसका चालक बझाङ घर भएका २४ वर्षीय बिमल बाग पुरिएका छन् । पहिरोले एक्साभेटरसहित चालक पुरिएपछि खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।  घटनामा परी एक्साभेटरका सह–चालक सोरु गाउँपालिका–१ का २२ वर्षीय बिनय मल्ल घाइते भएका छन्। 

एक्साभेटर बाहिर बसेर ढुंगा खस्छ कि भनेर हेरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर उनको हात र खुट्टामा चोट लागेको छ । घाइते मल्लको अवस्था सामान्य रहेको र उनले कुराकानी गर्नसक्ने स्थितिमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिराज थपलियाले जानकारी दिए।

घटनालगत्तै उद्धारका लागि प्रहरी टोली खटिएको छ  इलाका प्रहरी कार्यालय रातापानी, मुगुबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमाण्डमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षकआनन्द कुमार प्याकुरेलको कमाण्डमा सात जना गरी कुल १३ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरिरहेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिम दूरीमा पर्दछ  घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।