दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान 

नेपालगन्ज। कुनै पर्व होस् वा सामान्य दिन, एक समय थियो जहाँ रुपैडिहा बजार हरेक क्षण गुल्जार हुन्थ्यो। भारतीय सिमानाको यो बजारमा किनमेलको जति चमक हुन्थ्यो यतातिर नेपाली बजार नेपालगन्ज भने सुनसानप्राय देखिन्थ्यो। 

बाँकेको जमुनाह नाकाले छुट्याएको नेपालगन्जको घरेलु बजार पार गर्दै सारा नेपाली उपभोक्ताहरू भारतीय बजार रुपैडिहा जान्थे। चाडपर्व वा बिहेवारी वा कुनै घरको कुनै कार्यक्रमहरू सारा सामानका लागि नेपालीको किनमेल भनेको त्यही भारतीय बजारमै हुन्थ्यो। दैनिक प्रयोगदेखि भान्साका सामाग्री होस् वा ब्यापारिक नै किन नहोस् बाँकेमात्रै होइन सारा पश्चिम नेपालका जिल्लावासी हुर्रिएर सिमापारि पुग्थे। 

तर अहिले भने त्यसको ठीक उल्टो देखिएको छ। जब नेपाल सरकारले सिमापारिबाट ५ सयभन्दा धेरैको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागु गर्‍यो त्यसपछि रुपैडिहा बजार सुनसान हुन थाल्यो। लुकिछिपी सामान ल्याउनेहरूलाई समेत भन्सार सुरक्षाकर्मीहरूले कडाइ गर्न थालेपछि विस्तारै नेपाली उपभोक्ता आफ्नै बजारमा धाउन थाले।

सुरुसुरुमा यस्तो नियम लगाउँदा भन्सारमा निकै विवादका दृश्यहरू देखा परे। यसले एकातिर स्वदेशी व्यवसायीहरूका लागि आशा जगाइरहेको थियो भने अर्कोतिर उपभोक्ताहरूलाई अनावश्यक दुस्ख दिइएको भन्दै त्यसको विरोध पनि हुन थाल्यो। तर सरकार पछि हटेन। यसले नेपाली व्यवसायीहरूलाई उत्साह थपिदियो। 

एक समय सारा ब्यापार सिमापारिको बजारमै हुन थालेपछि नेपालगन्जका ब्यवसायी(ब्यापारीहरूले नेपाली उपभोक्तालाई सचेतना जगाउन नाकामा स्वदेशमै सामान खरिद गरौं भन्नेजस्ता अभियानहरू समेत चलाएका थिए।

नेपाली ब्यापारीहरूले पटक पटक सरकारको ध्यानाकर्षण पनि गराउँदै आएका थिए। तर त्यो प्रभावकारी हुन सकेको थिएन। अहिले नेपाल सरकारले त्यो नियमलाई कडा गरेपछि सिमापारिको बजार भने सुनसान देखियो। रुपैडिहा बजार नेपाली उपभोक्तामै निर्भर भएको बजार हो। नेपालको यस्तो नियमपछि सिमापारिका ब्यापारीहरूले त्यसको विरोध गर्दै भन्सार खुलाउन आन्दोलनसमेत गरेका थिए। 

यसपालि दसैंका बेला नेपालगन्ज बजार आफैमा गुल्जार देखिएको छ। सिमापारि रुपैडिहा भने सुनसान देखिएको छ। नेपालगन्ज उद्याेग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीका अनुसार पहिलोपटक चाडपर्वका बेला नेपालगन्ज बजारमा नेपाली उपभोक्ताहरूको भिड देखिएको बताए। उनका अनुसार यसपालि सिमापारीको बजार जाने नेपाली उपभोक्ताहरू निकै कम देखिएका छन्। 

‘यसले नेपाली व्यवसायीहरूलाई निकै उत्साह थपेको छ। नेपालगन्ज बजारमा सबै सामान महंगा र गुणस्तरहीन हुँदैनन्। धेरैजसो दैनिक प्रयोगमा आउने सामानहरू त उताभन्दा यता नै सस्तो र राम्रा पनि हुन्छन्’ उनले भने ‘वारिपारीको कुरा हो। आफ्नै देशमा किनमेल गर्दा नेपाली उपभोक्तालाई सहज हुन्छ। सामानहरूको गुणस्तर पनि हुन्छ। सास्ती पनि भोग्नुपर्दैन।’