लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध निरन्तर स्थानीय


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध निरन्तर स्थानीय

नेपालगन्ज। लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध आज पनि स्थानीयले आन्दोलन गर्ने भएका छन्। सरकारले गत असोज ३० गते भिक्षुणी गायिका डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो।

त्यसको विरोधमा लुम्बिनी बचाउ महाअभियानले आज लुम्बिनीको पर्साचोकमा विरोध प्रदर्शन गर्ने भएको हो। 

यसअघि नै महाअभियानले चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको थियो।

डोल्मा नियुक्तिको विरोधमा लुम्बिनीसँग सम्बद्ध विभिन्न सामाजिक संघसंस्थाहरूले विरोध गर्दै आएका छन्। महाअभियानमा जोडिएका सयौं संघसंस्था र कपिलवस्तु–तिलौराकोट संघर्ष समितिले पनि डोल्माको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सरकारलाई निर्णय सच्याउन माग गरेको छ। 

उनको नियुक्तिलगत्तै महाअभियानले लुम्बिनीस्थित उपाध्यक्षको कार्यालयमा कालो ब्यानर टाँसेर धर्नासमेत दिएको थियो। त्यस्तै अभियानले काठमाडौंमा समेत पत्रकार सम्मेलन गर्दै सरकारलाई नियुक्ति सच्याउन अल्टिमेटम दिइसकेको छ। उपाध्यक्षको नियुक्ति बदर नगरे कात्तिक ९ गतेदेखि आन्दोलनमा उत्रिने महाअभियानले चेतावनी दिइसकेको छ। 

आनीको नियुक्तिबारे अहिले सामाजिक सञ्जालमा पनि चर्चा चलिरहेको छ। उनको नियुक्तिको विषयबारे पक्ष–विपक्षमा बहस चर्किएको छ। खासगरी नागरिकता तथा सम्पत्ति सुद्धिकरणको मुद्दा विचाराधीन रहेको भन्दै उनलाई विवादमा तानिएको छ। 

तर आनीले भने यस्तो विरोधबाट आफू कत्ति पनि बिचलित नभएको भन्दै जसरी भए पनि आफूले पाएको जिम्मेवारी पूरा गरेरै छोड्ने बताएकी छिन्। 

लुम्बिनीकै स्थानीय बासिन्दा तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनको नियुक्ति खारेज हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। सुशासन, सार्वजनिक नैतिकता र कानूनी दृष्टिले आनीको नियुक्ति गलत रहेको बताउँदै उनले आमा–बुबा विदेशी नागरिक भएको आफैंले स्वीकरेको अवस्थामा आनीको नागरिकता वंशजको आधारमा कसरी हुन सक्छ भन्ने प्रश्न गर्दै त्रिपाठीले  उनीमाथि राष्ट्रियताको प्रश्न उठेको र यो टुंगो नलाग्दै नियुक्ति दिनु गलत भएको बताएका छन्।