१९ लाख रुपैयाँसहित कपनबाट २१ जुवाडे पक्राउ


१९ लाख रुपैयाँसहित कपनबाट २१ जुवाडे पक्राउ

काठमाडौं : नेपाल प्रहरीले १८ लाख ९२ हजार नगदसहित २१ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ गरिएको जानकारी दिए । “ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हौँ,” उनले भने ।

प्रहरीले पक्राउ परेकासँग १८ लाख ९२ हजार नगद र तास बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

उता, नवलपरासी प्रहरीले पनि जुवाताल खेल्दै गरेका १० जुवाडेलाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिकाबाट जुवातास खेल्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

गैँडाकोट–१० भैँसाखोरीस्थित राजकुमार सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गैँडाकोटका ४० वर्षीय इन्द्र राना, २५ वर्षीय सुजन बराल, २५ वर्षीय देव गुरुङ, ३१ वर्षीय मनोज गुरुङ, ३९ वर्षीय थिरबहादुर महतो, ४४ वर्षीय सञ्जय अधिकारी, ३४ वर्षीय भीम रावल, ३१ वर्षीय सुनबहादुर सुनारी, २५ वर्षीय अनिल सुनार र ३३ वर्षीय राजकुमार सुनार रहेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।

जुवाको खालबाट प्रहरीले रु ७१ हजार ५०२ बरामद गरेको छ । पक्राउ परेकाहरु विरुद्ध जुवातासअन्तर्गतको मुद्दा दायर गरी कारवाही गरिने प्रहरीले जनाएको छ । -रासस