दाङ: खुकुरी प्रहार हुँदा दाङमा एक युवा गम्भीर घाइते भएका छन् । दाङ शान्तिनगर गाउँपालिकामा गएराति दुई युवाबीच बिवाद हुँदा खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खुकुरी प्रहारबाट शान्तिनगर गाउँपालिका वडा नम्बर ५ पहाडीपुर निवासी ३० बर्षीय प्रकाश थापा गम्भीर घाइते भएका छन् ।
सामान्य विवाद हुुँदा स्थानीय २२ वर्षीय नीम बहादुर ओलीले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ । थापाको टाउको र बाँया कानमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।
खुकुरी प्रहारबाट गम्भीर घाईते भएका थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने ओलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।