‘एमओसी’ अर्थात ‘ब्राण्ड’


‘एमओसी’ अर्थात ‘ब्राण्ड’

नेपालगन्ज: एमओसी अर्थात म्यूजिक अन च्वाइस्ले १५ वर्ष पुरा गरेकोछ । रेडियोमा कान थापेर सुनिरहेका हजारौं श्रोतामाझ लोकप्रिय बनेको कार्यक्रम एमओसीको टल्कओभर म्युजिक सुन्नसाथ अझपनि थुप्रै स्रोताहरुको मन प्रफुल्ल हुन्छ ।

अझ त थुप्रै युवा तथा किशोरकिशोरीहरु रेडियो कार्यक्रम एमओसी सुन्दासुन्दै बयस्क भइसके । उनीहरुको बालापन र किशोर अवस्थामा एमओसीले राम्रै छाप पार्न सफल भएकोछ । त्यही भएर पनि हो यतिखेर एमओसीको सामाजिक सञ्जाल फ्यान ग्रुप र पेजमा हजारौं श्रोताहरु जुडिएका छन् ।

रेडियो कार्यक्रममा पनि छुट्टै पहिचान स्थापित गरेको रेडियो कार्यक्रम एमओसीले घरको गृहणी हुन्, कार्यालयमा जागिरे अथवा ब्यापारि वा विद्यार्थी सवैले औधी रुचाएको लोकप्रिय कार्यक्रम हो रेडियो कार्यक्रम एमओसी ।

पश्चिमक्षेत्रमा संभवत एमओसी नसुनेको श्रोता कमैमात्रामा छन् । सहर, बजार, गाँउ अझ तराई पहाडलाई समेत सांगेतिक शूत्रमा बाध्न सफल हो एमओसी । पछिल्लो प्रविधि र मनोरञ्जनको क्षेत्रमा आएको बढोत्तरी तथा विकासले एमओसीको लोकप्रियतालाई कम गर्न सकेन । त्यसैले अनवरत १५ वर्ष पुरा गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यसका सञ्चालक र परिकल्पनाकार समेत रहेका समीरमान श्रेष्ठ एमओसीको १५ वर्षे यात्रालाई सम्झदै भन्छन्–‘पहिले र अहिलेमा धेरै अन्तर आइसकेकोछ । यद्यपी एमओसीको क्रेज श्रोतामाझ उत्तिकैछ ।’

सुरुवातीदिनमा रेडियो बागेश्वरी एफएमबाट ९ बजे प्रसारण हुने गर्दथ्यो । विगतलाई सम्झदै समीरले भने–‘एमओसी सुरुवात गर्नेमा शिला पाण्डे र म नै हो । केही समयपछि शिला पाण्डेले एमओसीको यात्रालाई विट मारेपछि उनी काठमाण्डौ गइन् । एमओसीको यात्रामा सहयात्री गुमाएपछि अर्की यात्री एलिजा गिरीको प्रवेश भयो । केही समयपछि एलिजाले पनि एमओसीको यात्राबाट विदा लिइन् । एलिजापछि मलाई साथ दिन श्वेता सेरचन जोडिइन् । विडम्बना उनले पनि केही समपछि एमओसीको यात्रालाई विट मारिन् ।’

सवैको साथ पाउदै छुट्दै गरेको एमओसीले पछिल्लो दश वर्षदेखि एमओसीका सञ्चालक/परिकल्पनाकार समीरमानले नै नेतृत्व गर्दै आए ।
विभिन्न उतारचढावका बाबजुत समीरले कार्यक्रमलाई निरन्तरता दिइनै रहे । तर, यो अवधिसम्म ‘एमओसी’ रेडियो कार्यक्रमको ब्राण्ड नै बनिसकेको थियो त्यसैले त धेरै एफएम फेरियो, फेरिएन ब्राण्ड अर्थात एमओसी ।

एमओसीकी श्रोता अम्बिका केसी सम्झदै भन्छिन् ‘आफुलाई मन परेको गीतसंगित र सन्देश आफ्नो मान्छेलाई सुनाउन पाइन्थ्यो । त्यो पनि हस्तलिखित पत्र, टेलिफोन, एसएमएस र ईमेलमार्फत ।’ उनले विगत सम्झदै भनिन्–‘एक दिन एमओसी सुन्न नपाउदा के छुट्यो के छुट्यो हुन्थ्यो । दैनिकि नै बनेकोथियो । १५ वर्ष पुरागरेकोमा बधाई दिन चाहान्छु ।’

साथीभाईको जन्मदिन होस्, वा आफन्तलाई सन्देश दिनुपरे राम्रो माध्यम नै एमओसी बनेकोछ । मैले थुप्रै पटक साथीभाईलाई गीतसंगित डेडिकेट गर्नुका साथै जन्मदिनको शुभकामना दिएकोछु, अर्का एमओसी श्रोता नेपालगन्जका संविधान मगर बताउँछन् ।

एमओसीको गाँउखानेकथा, दिमाग खियाउने प्रश्न, जिके प्रश्न र चुटकिलाले रेडियो कार्यक्रमको झन लोकप्रियता बढाएको थियो । स्पोन्सरले सही उत्तर दिनेलाई उपलब्ध गराउने गिफ्ट ह्याम्पर लिन दाङ, सुर्खेत, बर्दिया लगायत टाढाटाढाबाट नेपालगन्ज आउनुले पनि यसको लोकप्रियता र कार्यक्रम प्रतिको माया दर्शाउँछ ।

अहिले रेडियो सद्भाव ९१.२ मेगाहर्जबाट लोकप्रिय रेडियो कार्यक्रम ‘एमओसी रिलोडेड’ प्रसारण भइरहेकोछ । कार्यक्रमको अहिलेसम्म ४ हजार ८ सय ८० शृङ्खला प्रशारण भइसकेको कार्यक्रम सञ्चालक समीरमान श्रेष्ठ बताउँछन् ।

बि.स. २०६१ मङ्सिर ३ गते बागेश्वरी एफएमबाट सुरु भएको उक्त कार्यक्रम रेडियो एक्सप्रेस हुदै अहिले रेडियो सद्भावमा नियमित प्रशारण भइरहेको छ ।

हप्ताको शुक्रवार र शनिवार बाहेक हरेक दिन साँझ ६ः३५ मा प्रशारण हुने कार्यक्रम यस क्षेत्रकै सवैभन्दा लामो समयसम्म सञ्चालन भएको एकमात्र रेडियो कार्यक्रम हो ।

देश विदेशमा रहेका नेपालीहरु यो कार्यक्रमका श्रोता रहेका छन् । श्रोताहरुको निरन्तर माया र सहयोगका कारण उनीहरुकै मागले ६ पटक श्रोताहरुसङ्ग भेटघाट कार्यक्रम पनि गरिसकेको कार्यक्रमका सञ्चालक श्रेष्ठ बताउँछन् ।

पत्रबाट सुरु भएको यो कार्यक्रम अहिले समय अनुसार प्रविधिमैत्रि वन्दै फेसबुक र एसएमएसबाट सन्देशहरु लिने, नेपाली गीतहरुलाई प्राथमिकता दिदै नेपाली गीत मात्र बजाउने, मनोरंजन सङ्गै जानकारीमुलक र ज्ञानबर्धक प्रश्नोत्तर र पुरस्कारको ब्यबस्था पनि रहेको छ । जसले विशेषगरि युवायुवतीमाझ निकै लोकप्रिय बन्न सफल भएको हो ।

एमओसीले समयसापेक्ष कार्यक्रममा नेपाली गीत संगीत क्षेत्रका कलाकारहरुको सहभागीता गराउँदै उनीहरुको कुराकानी कार्यक्रममार्फत आम श्रोतासमक्ष पु¥याउदै आएकोछ ।