कोहलपुरमा पुनः एक कोरोना संक्रमितको मृत्यु


कोहलपुरमा पुनः एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : कोहलपुरमा पुनः एक कोरोना संक्रमितको मृत्यु भएकोछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका कोरोना संक्रमितको आज मृत्यु भएको हो ।

अर्घाखाँची शितगंगा नगरपालिका–१२ का ४२ वर्षिय पुरुषको मङगलबार विहान सवा ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाकु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गत साउन २७ गते ट्रिपर दुर्घटनामा परी घाइते भएका ती पुरुषको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार गराउँदा उनीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत भदौ ४ गते स्वाब संकलन गरि परीक्षण गरिएको थियो ।

स्वाब परीक्षण लिएको भोलीपल्ट आएको प्रयोगशाला रिर्पोटमा ती पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखिए लगत्तै उनलाई भीम अस्पताल भैरहवा थप उपचारका लागि लगिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

भीम अस्पताल भैरहवामा पाँच दिनसम्म राखेर उपचार गर्दापनि उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि भदौ ११ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । सोदिनदेखि उपचाररत ती पुरुषको उपचारकै क्रममा आज विहान मृत्यु भएको हो ।

योसँगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराउन आएका मध्ये मृत्यु हुनेहरुको संख्या ४ पुगेकोछ । यसअघि अछाम, कैलाली र बर्दियाका एक–एकजनाको मृत्यु भएको थियो ।