कोरोनाका कारण विद्यालय र कलेजहरु बन्द भएपछि कक्षा १२ को फाइनल परीक्षाको तयारीमा जुटिरहेकी छोरी प्रविधि घरमा आएर हामीसँगै बसिरहेकी छिन् । हामीले उनका निम्ति घरको वातावरण उनीमैत्री बनाउन कोशिस गरिरहेका छौं । उनकै सहमतिमा उनले गर्ने कामको टाइमटेवल किटान भएको छ ।
विहान एकछिन पढ्छिन् । भान्सामा गएर कहिले मम्मीलाई त कहिले भाउजुलाई सघाउँछिन् । दिउँसो कहिले अनलाइन सिकाइमा त कहिले मोवाइलमा समय बिताउँछिन् । हामीलाई लागेको थियो, विद्यालयमा रहँदाको होष्टेलको बसाई, समूहको खानपीन, पढाईको तनाव आदिमा हुर्किदाको अवस्थामा भन्दा आफ्नै घरमा बाबाआमा र परिवारका सदस्यहरुसँग रहदाँबस्दा उनी बढी खुशीको अनुभुति गर्नेछिन् । तथापी छोरीले हामीसँग खुशी छु भनेर दोहोर्याइ रहेपनि परिणाम हामीले अपेक्षा गरेजस्तो देखिएको छैन ।
घरमा आएपछि अलि दुब्लाएकी छिन् छोरी । मैले सहजै अनुमान गरें, यो उमेर भनेको साथीहरुसँग सुखदुःख बाड्दै रमाउने, हुर्कने र काम गर्ने उमेर हो न कि बाबाआमासँग खुम्चिएर बस्ने ।
मेरो छोरी जस्तै विद्यालय तहमा अध्ययन गर्ने हाम्रो देशका करिव ८० लाख विद्यार्थीहरु अहिले पनि मेरो छोरीकै अवस्थामा घरमै बसिरहेका छन् । एउटा कुरा त घरको वातावरण जति अनुकूल र उनीहरुमैत्री भएपनि यो उमेर घरमा कुञ्जिएर बस्ने उमेर होइन । जति राम्रो खाना दिए पनि पिँजडामा बन्द सुगा झै हुँदोरहेछ यतिबेलोको उनीहरुको जीवन । उनीहरुमध्ये कतिपयको त घरको वातावरण अनुकूल छैन । परिवारका सदस्यहरुले उनीहरुको भावना बुझ्दैनन् । विभिन्न निहुँमा उनीहरुसँग झनझन फननफन गरिरहन्छन् ।
कतिपयका लागि जन्मदिने बाबुआमाले नै जानी वा नजानी सन्ततिहरुका निम्ति दुर्भाग्य बनिरहेका छन् । घरमा खुम्चिएर बस्नु एउटा पीडा त छदैछ । त्यसैमा फेरि घरका सदस्यहरुको टिकाटिप्पनी र टोकसोले उनीहरुमा क्रमशः मनोबैज्ञानिक समस्याहरु सिर्जना हुन थाल्छन् । रातमा निद्रा नलाग्ने, निद्रा लागेपनि सपना राम्रो नदेख्ने, सपनामै बर्बराउने, रुने, कराउने, मन कमजोर बनाउने, जिन्दगी प्रति उदासिन हुने, सानातिना कुरामा समेत आफ्ना कुरा राख्न डराउने जस्ता व्यवहारहरु देखिन थाल्छन् । यसरी मानसिक अवस्था क्षीण हुन थालेपछि यसले शारीरिक अवस्थामा समेत नकारात्मक असर पुर्याउँछ ।
कहिलेकाही सरकारी संयन्त्र र कोभिड विशेष कार्यक्रमहरुमा मनोवल उच्च बनाउनु पर्दछ । मनोवल उच्च बनाएमा कोरोनालाई जित्न सकिन्छ भन्ने जस्ता विज्ञापन र सन्देशहरु सम्प्रेषण गरिन्छ । तथापि व्यवहारमा भने त्यस्तो छैन । विषको बीउ रोपेर अमृतको बेर्ना उमार्ने दुस्प्रयाश हुदैछ, जो सम्भव हुदैन । आत्मबल कमजोर हुने गरी परिवेश बनाउने अनि आत्मबल बढाउनुपर्छ भन्ने कुरा सम्प्रेषण गर्ने । यस्तो पनि सम्भव हुन्छ र ? विरामी भएर निको भएका अन्य मानिस लगायत डाक्टरहरुको अनुभवलाई बढाइचढाइ गरेर मिडियामा यसरी स्थान दिइरहेको छ कि कोरोना लाग्यो भन्ने बाँच्न गाह्रो छ । यस्ता खवरहरु सुनिरहेका मानिसहरुलाई कोरोना सङक्रमण प्रमाणित भयो भने अब मरिन्छ क्या रे भनेर सोँच्न बाध्य बनाएको छ सरकार अनि परिवेशले । जब कि जे जति महामारी भनेपनि कोरोना सङ्क्रमितमध्ये ९८ प्रतिसत भन्दा बढि मानिसहरु निको भएर घर फर्केका छन् । तथापि मानिसहरुलाई किन मानसिक हिसाबले कमजोर बनाइदै छ ? के यसरी बढ्छ त रोगसँग लडाइ गर्ने प्रतिरक्षा शक्ति ?
मानिसहरु कामबिहीन भएका छन् । कामबिहीन भएपछि बजेट बिहीन भएका छन् । बजेटबिहीन भएपछि भान्साबिहीन भएका छन् । काठमाण्डौैैंको टुडिँखेलमा खाना नपाएर भोकभोकै रन्थनिएका मानिसहरुको भीड बढ्न थालेको छ । अव्राहम मास्लोले भने झै मानिसको सबैभन्दा अति आवश्यक आवश्यकता भनेको खाना, नाना र छाना हो । त्यसमध्ये पनि खाना प्रमुख हो । जब कि व्यक्ति खाना नपाएर मर्ने स्थिति भइसक्यो भने अरु केबाट खतरा छ भन्ने कुरा उसले सोँच्न पनि सक्दैन । केही महिना पहिलेसम्म उसको सबै थियो । कोरोनाको कारणले उसको रोजगारी गुम्दै गुम्दै अब खाना नपाइ उसको जिन्दगी नै गुम्ने अवस्था आउने हो भने कोरोनाको नाममा किन यति बिघ्न सास्ती ? संस्थागत बिद्यालय बन्द हुँदा मात्रै दुई लाख भन्दा बढि मानिसहरुले रोजगारी गुमाएका छन् र उनीहरुको चुल्होमा आगो बल्ने कुरा सङ्कटमा परेको छ । तैपनि मानिसहरुका आवाज र आर्तनादहरु किन सुन्दैन सरकार ? यत्तिसम्म कि मानिसहरु निरुपाय भएर मृत्युलाई सुम्सुम्याउन बाध्य छन् । के यही हो कोरोनाबाट बच्ने उपाय ? के यसरी नै बढ्छ कोरोना बिरुद्धको प्रतिरक्षा शक्ति ?
धेरै लामो अनुभव भएका, धेरै वर्ष जेलजीवन विताएका र धेरै वर्षको आयु बाँचेका विद्वान र दिग्गज व्यक्तिहरु सरकारमा पुगेपछि अरुका कुरा सुन्न त्यति आवश्यक नहुँदो रहेछ क्या रे । त्यही भएर सरकारका मानिसहरुले आफ्ना नजिकका सल्लाहकारहरु बाहेक अरुका कुरा सुन्दैनन् भन्दा अन्यथा हुदैन । त्यही भएर पनि मानिसहरु वाक्कदिक्क भएर अन्य विभिन्न माध्यम र मिडियाहरुमा कराउँछन् । अहिले कराउनेहरुमा प्राकृतिक चिकित्सक, एकाध शिक्षाविद्, एकाध मेडिकल डाक्टर र केही सामाजिक अभियन्ताहरु देखिएका छन् । डाक्टर पूर्ण शाही लगायतका प्राकृतिक चिकित्सकहरुले कोरोनाको हाउगुजी देखाएर नागरिकलाइ मार्न पाइदैन भन्दै सरकारलाई चुनौती दिइरहेका छन् । सनातनदेखि चलिआएको प्राकृतिक चिकित्सा र आयुर्वेदीय उपचारका कुरा उठाउँदा उनीहरुसँग बहस गर्न समेत तयार छैन सरकार ? कुरा वेसारपानीका गरेपनि विश्व स्वास्थ्य सँगठनको पुच्छर भएपछि आफ्ना नागरिक भन्दा अरु नै प्यारो लाग्ने रहेछ । कारण के हो थाहा छैन मलाई । भगवान जानून् !
पीसिआर चेक गरेपछि थाहा भयो । मलाई कोरोना पोजिटिम रहेनछ । मैले यसलाई संयोग मानेको छु । विज्ञहरुका अनुसार कोरोना त जहाँ पनि हुन सक्छ । म हिड्ने बाटोमा हुनसक्छ । मैले काम गर्ने कार्यकक्षमा हुन सक्छ । मैले खाने खानेकुरामा हुन सक्छ । मैले उघार्ने ढोकाको चुकुल र पल्लामा हुनसक्छ । मैले चढ्ने बाइक र गाडीमा हुनसक्छ । मैले पढ्ने पत्रिका र किताबमा हुनसक्छ । साँच्चि यसो भएपछि कोरोनाले भेटाउँछ कि भनेर एउटा कोठामा बसेर वर्षौं बाँच्न सकिन्छ त ? मलाई त पूर्ण विश्वास छ, नेपालमा पनि गन्तिमा भएकाहरु भन्दा धेरैमा लागिसक्यो कोरोना । थाहा छैन, मलाई पनि लागेर सञ्चो भइसकेको हुनुपर्छ । नलागेको भए एकदिन लाग्ने कुरामा ढुक्क छु । तर, यसैबाट मरिन्छ भन्ने कुरा सत्य होइन । तथापि सरकारले भने होसियार, लाग्यो भने बाँच्न गाह्रो छ भनिरहेको छ । जतिसुकै लकडाउन गरे पनि र जतिसुकै गाउँ र टोल सिल गरेपनि कोरोना त फैलिरहेको छ । सरकारले त नेपालमा एकजना चाइनाबाट आएको विद्यार्थी बाहेक अरुलाई कोरोना हुन दिन्न भनेर लगातार तीन महिना लकडाउन गरेकै हो । नतीजा भने माछो–माछो भ्यागुतो भयो त आखीर !
त्यसैले मेरो त हार्दिक अनुरोध छ कि, कोरोनाको बारेमा सबैले गम्भीर भएर सोचौं । अहिले सरकारको ढुकुटीबाट तलब खानेहरु सरकारकै पक्षमा उसैको कुरामा समर्थन जनाइरहेका छौं । यो पाराले एकदिन यस्तो आउने छ कि सरकारी ढुकुटी रित्तिने छ र सरकारी ढुकुटीमा बाँचेकाहरुले त्यो सुविधाबाट बञ्चित हुनुपर्नेछ । अनि यसरी अहिले सुविधा थाप्नेहरु पनि टुडिँखेलमा गएर कुनै दिन कुनै मनकारी मानिसले आयोजना गरेको खाना वितरण कार्यक्रममा गएर खानाका लागि थाली थाप्नुपर्नेछ । हामी अहिले त्यही बाटो हिडिरहेका छौं । नेपालमा भोकले कोही पनि मर्ने छैन भनेर भाषण गर्नेहरु सरकारमा भएका बेला साँच्ची नागरिकहरु भोकले मर्ने स्थिति आइसकेको छ । नागरिकहरु भोकले मर्ने स्थिति भयो भने उनीहरुको कोरोना विरुद्धको प्रतिरक्षा शक्ति कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले सरकारले आफू हिँडिरहेको बाटोबाट हामी कहाँ पुग्दैछौं भन्ने कुराको समयमै हेक्का राख्न जरुरी छ । देशको भलो चिताउने सामाजिक अभियन्ता, लेखक, शिक्षाविद्, चिकित्सक आदिको कुरा पनि सुन्नुपर्छ जस्तो लाग्छ मलाई । जसले आफ्नो पद र रोजीरोटीको निम्ति भन्दा पनि देशको दूरगामी भलाईको निम्ति बोल्छन्, तिनीहरुका कुरा सुन्दा सत्ता छोट्टिने होइन कि लम्बिने सम्भावना हुने कुरा सरकारले नबिर्सिदा सबैलाई भलो हुने देखिन्छ ।
एउटा प्रचलित भनाइ छ, सिकाउन त समयले पनि सिकाउँछ र गुरुले पनि । तर, दुबैमा यत्ति फरक छ कि गुरुले सिकाएर परीक्षा लिन्छ भने समयले परीक्षा लिएर सिकाउँछ । भन्नुको मतलब, समयले हामीलाई यतिबेला धेरै कुराको परीक्षा लिइरहेको छ । लकडाउन कोरोना नियन्त्रणको अचुक उपाय होइन भन्ने कुरा सिकाएको छ । कुनै काम गर्दा जति लाभ हुन्छ त्यो भन्दा बढी नोक्सानी हुन्छ भने सरकारले सोँच्नु पर्दछ भन्ने कुरा सिकाएको छ । त्यसैले यो पङ्तिकार अनुरोध गर्न चाहन्छ कि परिवारमा भएका बृद्धबृद्धा र दीर्घरोगीलाई सकेसम्म कोरोना सङ्क्रमणबाट जोगाउन सरकार र परिवार दुबै पक्ष लागेर हरसम्भव प्रयास गरौं । अरु सबै क्रमशः काममा निस्कौं । कोरोनाको बिरुद्धको जनचेतना दिने भूमिकामा शिक्षकहरुलाई परिचालन गरौं । प्रधानमन्त्रीले भनेझै बेसारपानी लगायत हाम्रो भान्सामा परम्परादेखि पाक्दै आएका औषधीजन्य आहारबिहारलाई निरन्तरता दिने काम गरौं । योग गरौं । यातायात, सडकबाटो, विद्यालय, कलेज, कार्यालय आदि खोलौं । काम गरेर खानपाउने वातावरणको सिर्जना गरौं । मनोबल सबैको उच्च हुनेगरी काम गरौं । बल र बुद्धि दुवैको स्रोत पुलिस प्रशासनलाई नबनाऔंं । अन्यथा सरकार आफैले आफ्नो प्रतिरक्षा गर्न नसक्ने गरी थला पर्ने खतरा बढ्यो भने आफै थला पर्दै गएकोे सरकार र त्यसको अर्थतन्त्रले कसरी गर्छ अरुको प्रतिरक्षा ? सबैलाई चेतना भया ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं