File Photo
यूटुवभित्र पसेपछि भूपेन्द्र बुढाथोकीको शब्दमा पूर्णिमा लामाले भर्खरै गाएको गीतमा नजर पर्यो । ल्यापटपमा क्लीक गरेर सुन्न शुरु गरें । सुन्न शुरु गरें कि रुन शुरु गरें, आफै द्विविधामा परें । शुरुका शब्दहरु यसरी पोखिए – ‘फूल भनूँ जिन्दगीलाई फूल्नै नपाइ झरिसक्यो, दीप भनूँ जिन्दगीलाई जल्नै नपाई मरिसक्यो ।’ यो गीतको सर्जकले कसको कथालाई गीतमा समेटेका हुन् ? मलाई थाहा भएन । आफूभने विद्यालयको आँगन र कक्षाकोठाभरि देखिने बालबालिकाहरु सडक, बाटो, पाखा र जङ्गलभरि रुझ्दैभिज्दै काम गरेको कुरा देखेको सम्झेर रोएँ ।
गीतले भने झै उनीहरुको जीवन अब फूल्नै नपाइ झरिरहेको अनुभूत गरेर रोएँ । पूर्णिमाले गाउँदै गइन् –कस्तो दिनमा जन्म भयो भीडमा पनि एक्लो भएँ, मेरो आँकाश छुने ईच्छा आज सबै बिलाइ गए । केही गरी राम्रो बन्ने थिए मेरा सपनाहरु, घुटु–घुटु पिउनु पर्यो पानी जस्तै आँशुहरु ।
पछिल्ला हरफहरुले पनि लकडाउनको कारण विद्यालयहरुमा जान नपाएका बालबालिकाका कथाहरु नै समेटिएका अनुभूत भयो मलाई । गीत सुन्दै गर्दा त्यो दिन त्यस्तै भयो । विधाताले पूर्णिमालाई गाउने जिम्मा दिएकाले गाइरहिन् । मेरो भागमा रुने जिम्मा परेछ । रोइरहें ।
यो पङ्तिकार पूर्णिमाको गीत सुनेर रुदैँगर्दा एकपटक मेरो कुरा सुनेर रुदैँगरेकी बर्दियाको एकजना महिला अभिभावकको सम्झना भयो । उनी रुनुको कारण खोतल्दा कथा यस्तो थियो :– पढाइ छोडेर उमेर नपुग्दै विवाह गरिन् । बीस वर्ष नपुग्दै दुई जना सन्ततीको आमा पनि भइन् । जुन दिन उनीसँग मेरो भेट भयो, मैले किशोरावस्थाका कक्षा दशका बालबालिकाहरुसँग बालविवाहले हुने बर्वादीका कुरा गरिरहेको थिएँ ।
मैले त कुरा मात्र गरें । भोग्ने भने उनी परिछन् । त्यसैले आँशु थाम्न नसकेर त्यतिबेला रोइन उनी । भर्खरैको कुरा, एकजना शिक्षिकासँग भलाकुसारी हुँदा आठ कक्षामा पढ्नुपर्ने दुईजना नानीहरुले लकडाउनको अवधिमा विवाह गरिसकेको कुरा सुनाइन् । सम्झें । सायद उनीहरु पनि बर्दियाको एकजना महिला रोएझैं आफ्नो जिन्दगी सम्झेर कुनै दिन रुनेछन् । मेरै सहकर्मी एवम् पूर्व स्टाफको कक्षा १२ मा अध्ययन गरिरहेको छोराले आत्महत्या समेत गरे । सहकर्मीलाई भेट्न जाँदा उनीबाट समेत विद्यालयहरु सञ्चालनमा भएको भए यो घटना हुने थिएन भन्ने दुःखेसो पोखे ।
म जसलाई मेरो सरकार भन्छु, सायद उसलाई विद्यालय बन्द गर्दा बालबालिका र देशमा कस्तो असर पर्छ भन्ने कुरा थाहा छैन क्या रे । त्यसैले जबरजस्ती बन्द गरिरहेको छ । सुरक्षाका सवै प्रबन्ध मिलाएर विद्यालय सञ्चालन गर्न खोज्दा पनि आँखा चिम्लेर बन्द गर्ने आदेश दिइरहेको छ । कोरोनाको शून्य सङ्क्रमण भएका जिल्ला र पालिकाहरुमा समेत पाँच महिनादेखि सबै विद्यालयहरु बन्द छन् । खोल्नेलाई खबरदार भन्दै सजायको धम्की दिने काम भएको छ । कतिपय गाँउ र टोलमा विद्यालय बाहेक सबै काम चलिरहेका छन् । यहाँसम्म कि कतिपय बिहेपार्टी, पूजाआजा र छलफल एवम भेलाका कामहरु समेत विद्यालयको परिसरमा जम्मा भएर गरिन्छन् । तर, विद्यालयमा विद्यार्थीहरु भेला हुन सख्त मनाही छ । त्यसैले हुनेखानेका बालबालिकाहरु ल्यापटप समातेर अनलाइन र जुम क्लासहरुमा देखिन्छन् भने हुँदाखानेका विद्यार्थीहरु वनपाखा, सडक, खोला र जङ्गलतिर विभिन्न कामको बहानामा छरपष्ट देखिन्छन् ।
माथि मैले उल्लेख गरेजस्तै विद्यालय बन्द भएको कारणले बालबालिकाहरु विभिन्न समस्याहरुको शिकार भइरहेको अवस्था छ । उनीहरुको अध्ययनतिरको मन अव अध्ययनबाट भागिसकेको देखिन्छ । घरको वातावरण अनुकूल नहुने विपन्न समूदायका बालबालिकाहरुले सडकलाई घर बनाइसकेको स्थिति छ । कतिले त आत्महत्याको माध्यमबाट मृत्युवरण गरिसकेका छन् । मेरो देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय चार पुग्दै गर्दा यही अवधिमा आत्महत्या गर्नेको संख्या पच्चीस सय पुगिसकेको अवस्था छ ।
बालविवाह, घरेलु हिंसा, दूव्र्यसन, यौनहिंसा आदिको शिकार कति भएका छन्, अभिलेख आउन बाँकी छ । यूनिसेफले कोरोनाको कारणले विश्वभरि करिव एक करोड विद्यार्थीहरुले पढाइ छोड्ने अनुमान गरेको छ । त्यो प्रभाव हाम्रो मुलुकमा अझ गम्भीर किसिमले पर्ने देखिन्छ । किनभने अन्य मुलुकमा विद्यार्थीहरुले विद्यालयको आँगन टेक्न नपाए पनि शिक्षण सिकाइ क्रियाकलाप सुचारु भइरहेको छ ।
विपन्न विद्यार्थीहरुका निम्ति सरकारले गर्ने खाजा लगायत अन्य रेखदेखमा समेत ख्याल गरिरहेको छ । हाम्रोमा माथि भनेझै सिमित बालबालिकाहरुको शिक्षा सूचारु देखिएपनि पञ्चानब्बे प्रतिसत भन्दा बढि बालबालिकाहरुको अवस्था नाजूक छ । सरकारले उनीहरुका निम्ति सिन्कोसम्म पनि भाँच्न नसकेको अवस्था छ ।
हाम्रो देशको सरकारले शैक्षिक क्षेत्रलाई महत्व दिएर कामयावी बनाउन सकेको देखिदैन । विद्यालयको सञ्चालन कसरी गर्ने भन्ने सम्बन्धमा सरकारले सामान्य नागरिकसरहको विवेकसम्म पनि नपुर्याएकोझै देखिन्छ । सरकार काम नदिएर घरमै बसेर तलव दिएपछि शिक्षकलाई पनि यो विषयमा नदुखेको टाउको किन दुखाउने भन्ने जस्तो भएको छ । त्यही भएर पनि शिक्षक र शिक्षकका थरिथरिका पेशागत संघसंस्थाहरु समेत विद्यालय सञ्चालन गर्ने संभावनाका सम्बन्धमा हालका मितिसम्म एक शब्द पनि नबोलेको अवस्था छ ।
यस्तो लाग्छ, विद्यार्थीको शैक्षिक उपलब्धि र समुन्नति भनेको उनीहरुको सरोकारको विषय नै होइन । यही मौका छोपेर सरकार पनि मनलाग्दो तरिकाले बोलिरहेको छ । कहिले विद्यार्थी भर्ना गर भन्छ, कहिले गर्ने होइन, रोक भन्छ । कहिले सवै शिक्षकहरु विद्यालय जाऊ भन्छ, कहिले जानु पर्दैन भन्छ । कहिले मुलुकका सवै विद्यालयहरु बन्द भन्छ त कहिले यो अधिकार स्थानीय सरकारको हो भन्छ । जे होस, जसले जे भने पनि हालका मितिसम्म विद्यालयहरु औपचारिक रुपमा नखुलेको अवस्था साँचो हो ।
सरकार शिक्षा क्षेत्रमा गम्भीर नभएको कारण यसको प्रत्यक्ष मार पुरानो कर्णालीका विद्यार्थीहरुलाई परिरहेको छ । सरकारको यो सोँच र रवैयाले विद्यालयहरु दशैंतिहार अघि खोल्ने सम्भावना देखिदैन । सरकारले दशैंतिहार अघि कक्षा ११ र कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्यो भने त्यसैलाई ठूलो काम मान्नुपर्ने देखिएको छ । दशैंतिहार पछि भनेको कात्र्तिकपछि हो । कात्र्तिक पछि मंसिरमा विद्यालय खुल्नु भनेको पुरानो कर्णालीका पाँचवटा लगायत हिमाली जिल्लाहरुको निम्ति चालु शैक्षिकसत्रको एकमहिना बाँकी रहन्छ ।
त्यसपछि पौष र माघ महिनामा अत्यधिक चिसोका कारण त्यहाँका विद्यालयहरु चाहेरपनि सञ्चालन गर्न सकिदैन । फागुनदेखि नयाँ शैक्षिकशत्र शुरु हुन्छ । जवकि ती जिल्लाहरुमा एकदिन पनि विद्यालय बन्द नगरेको भएपनि हुन्थ्यो । किनकि अहिलेसम्म पनि ती जिल्लाहरुमा कोरोनाका सङ्क्रमण महामारीको रुपमा फैलिएको छैन । यी त भए केही दृष्टान्तहरु । पालिकागत हिसाबले यो मामलामा संघीय सरकार र सम्बन्धित स्थानीय तहले विवेकसम्मत किसिमले विश्लेषण गर्न सकेको भए इन्टरनेटको पहुँचमा नभएका अधिकांश विद्यालयहरु सहजरुपमा सञ्चालन भइरहेका हुन्थे ।
विगतमा जे भयो, त्यतातिर नलागेर अव गल्ती नगर्ने हो भने विद्यालयहरुका निम्ति शैक्षिक शत्र पुनरावलोकन गर्नु जरुरी छ । यसका लागि शैक्षिक शत्रलाई आर्थिक वर्ष अनुसार नै मिलान गरिनु हरेक हिसावले राम्रो हुने देखिन्छ । विद्यालयले सञ्चालन गर्ने परीक्षा र मूल्याङकनका कुराहरु अब आउने २०७८ साल जेठमा सञ्चालन गरिनुपर्दछ ।
अहिलेको अवस्थामा फागुन महिना देखि शैक्षिक शत्र शुरु हुने जिल्लाहरुको शैक्षिकशत्र पनि साउनदेखि नै शुरु गरिनुपर्दछ । यसो गर्न सकियो र आउँदो मंसिरबाट पठनपाठनलाई सुचारु गर्न सकियो भने हिमाली जिल्लाहरुको पठनपाठन गर्ने अवधि अझै ५ महिना बाँकी रहन्छ भने अन्य जिल्लाहरुको पठनपाठन हुने अवधि अझै पनि ७ महिना बाँकी रहन्छ । विदालाई खुम्च्याएर पठनपाठनलाई अघि बढाउने हो भने पठपाठनलाई तोकिएको पाठ्यभार र पाठ्यक्रमअनुसार सम्पादन गर्न सकिने स्थिति छ । समस्याको यो समाधानले आर्थिक वर्ष र शैक्षिकशत्रको एकरुपता नहुँदा आर्थिक व्यवस्थापनको क्षेत्रमा बल्झिएका कतिपय समस्याहरुसमेत समाधान हुने देखिन्छ ।
सकेसम्म सामाजिक दूरी र सुरक्षाका अन्य कवच समेत अपनाइ विद्यालयको पठनपाठनलाई भाद्र दोश्रो हप्तादेखि सूचारु गर्न सकिन्छ । यसका लागि संघीय सरकार, स्थानीय सरकार र शिक्षकहरुसमेत तयार हुनुपर्दछ । आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको तलवसहित दशैं खर्चको हिसाव हात पार्दा कम्तिमा विद्यालयमा विद्यार्थीहरुलाई अध्यापन गरेको हुनुपर्दछ भन्ने सोँच र प्रतिबद्धता शिक्षक र शिक्षकका पेशागत संस्थाहरुसँग देखियो भने यो काम त्यति गाह्रो छैन ।
सकिदैन भन्ने हो भने त मंसिरदेखि पनि सकिदैन । मंसिरमात्र होइन आउँदो दुई वर्षसम्म पनि सम्भव देखिदैन । किनभने विज्ञहरुको भनाइ अनुसार पनि अहिले नै पत्ता लागेको भ्याक्सिनले काम गर्यो भनेपनि जनजीवन सामान्य स्थितिमा पुग्न अझै दुई वर्ष भन्दा कम लाग्ने देखिदैन । हाम्रो मुलुकको मात्र कुरा गर्ने हो भनेपनि एउटा शैक्षिक शत्र गुमाउनु भनेको असी लाख विद्यार्थीहरुको एकवर्ष गुमाउनु हो । व्यक्तिका लागि एकवर्ष भएपनि मुलुकका लागि असी लाख वर्ष गुमाउनु हो भन्ने कुरा बिर्सनु हुदैन भन्ने लाग्छ मलाई ।
यो मामलामा सरकार पनि शिक्षाप्रति सकारात्मक हुनुपर्यो रसियाका राष्ट्रपति पुटिन जस्तै । आफ्नो देशका बैज्ञानिकहरुले बनाएको कोरोनाको भ्याक्सिन सबैभन्दा पहिलो शिक्षक र डाक्टरको निम्ति प्रयोग गर्ने कुरा गरेकाछन् राष्ट्रपति पुटिनले । पत्रकारले ‘किन ? के नागरिकले बाँच्नु पर्दैन ?’ भन्ने प्रश्न गर्दा जवाफमा उल्टै पुटिनले प्रश्न गरेका छन्– ‘शिक्षक भएन भने डाक्टर कसले बनाउँछ ? डाक्टर भएन भने अन्य नागरिकको उपचार कसले गर्छ ?’ हाम्रोमा त भ्याक्सिन त के, पीसिआर गराउनका लागि समेत शिक्षकहरु प्राथमिकतामा परेका छैनन् । समग्रमा शिक्षा क्षेत्र नै तीनै तहका सरकारको प्राथमिकताको सूचीभित्र परेको देखिदैन ।
आशा छ, ईतिहासमा शासन गरेका तानाशाहहरुले जस्तै शिक्षालाई प्राथमिकता दिने सवालमा अहिलेको सरकारले कञ्जुस्याँइ गर्ने छैन । पूर्णिमा लामाले गाएको गीतले भनेझै शिक्षामा भएको बेथितिको कारणले फूल्न लागेको बालबालिकाको जिन्दगीे फूल्नै नपाइ झर्ने पनि छैन । किनकि यो सरकार हजारौं जनताले बगाएको रगत सुक्न नपाउँदै सुविधाजनक बहुमतका साथ सत्तामा आरोहण गरेको सरकार हो, सवैलाई चेतना भया ।
बाँकेका सांसद खगेन्द्रको फेरि ‘इन्कारी स्पष्टीकरण’, छानबिन झन् जटिल र लामो हुने
डुडुवाले राप्तीमा जबर्जस्ती उत्खनन् गर्न थालेपछि राप्ती सोनारीको विरोध
श्रीमतिको हत्या गरेर आफू रुखमा झुन्डिए उमेश, चार वर्षीय छोरा पनि घाइते
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’