बँदेल मार्न थापेको पासोमा परेर गयो ज्यान, सँगै पासो थाप्न गएका चारजनाले खाल्टोमा पुरेर भागे


बँदेल मार्न थापेको पासोमा परेर गयो ज्यान, सँगै पासो थाप्न गएका चारजनाले खाल्टोमा पुरेर भागे

परासी : बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एकजनाको मृत्यु भएको छ ।

घर नजिकैको जङ्गलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परी रामग्राम नगरपालिका–१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको मृत्यु भएको हो ।

शुक्रबार राती घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनीया यादवले खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो ।

खोजतलासको क्रममा मृतक यादवसँगै अन्य चार जना मिलेर पासो थापेको र यादवको मृत्यु भएपछि चारै जना फरार भएको पत्ता लागेपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

फरारमध्ये दुई जनालाई प्रहरीले गए राती रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ। पक्राउ परेका सोही गाउँका बाबुराम चौधरी र मोहन चौधरीले यादवको पासोमा परी मृत्यु भएपछि घटनास्थलभन्दा केही पर कुलोमा खाल्डो खनेर शव पुरेको बयान दिएका थिए ।

प्रहरीका अनुसार शुक्रबार राती उनीहरु पाँचै जनाले पासो थापेर घर गएको र बँदेल परेपछि खबर गर्ने जिम्मा पनि यादवकै थियो । अबेरसम्म पनि यादवले जानकारी नदिएपछि पासो थापेको ठाउँमा आफूहरु पुग्दा यादव मृत्त फेला परेपछि खाल्डो खनेर पुरेको पक्राउ परेकाहरुले बताएको डिएसपी लामाले बताए । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । -रासस