रनियापुरका खाँका हत्यारा २३ वर्षपछि पक्राउ


रनियापुरका खाँका हत्यारा २३ वर्षपछि पक्राउ

नेपालगन्ज : रनियापुरका नुर सलाम खाँका हत्यारा आजात खाँ २३ वर्षपछि पक्राउ परेकाछन् । खाँको हत्या पछि फरार रहेका आजातलाई उनकै घरबाट बाँके प्रहरीले पक्राउ गरेको हो ।

२०५४ फाल्गुन ७ गते साविक बाँकेको रनियापुर गाविस वडा नम्बर ८ रनियापुर बस्ने १९ वर्षिय नुर सलाम खाँलाई आजातले हत्या गरेका थिए । रनियापुरको चमकदारपुरमा आजातले खाँको छातिमा गोली हानि घाँटी रेटी हत्या गरि नेपाल र भारतका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

खाँको हत्या भएपछि जासिर खाँले आजातका विरुद्ध जिल्ला अदालत बाँकेमा किटानी जाहेरी दिएका थिए । उनले दिएको जाहेरीमा जिल्ला अदालत बाँकेले २०७२ साल असोज १७ गते २० वर्ष कैद सजाय सुनाएको थियो । अदालतबाट कैद सजाय सुनाउनुअगावै फरार रहेका आजातलाई जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय धनौलीको टोलीले २३ वर्षपछि पक्राउ गर्न सफल भएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।

विभिन्न अपराधमा फरार रहेका अपराधीहरुलाई पक्राउ गर्ने अभियान नै चलाएको बाँके प्रहरी खोजी सूचीमा समेत रहेका आजातलाई विशेष प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको हो एसपी रानाले भने–‘पक्राउ परेका आजातलाई आवश्यक कारबाहीका लागि सम्मानित अदालतमा पेश गरि कैद सजायका लागि कारागार चलान गरिनेछ ।’