आईतबार, कात्तिक १६, २०७७   ०४:५१:२१

बन्दरगाहमा साढे ७ करोडको छोकडा रोकियो


सेतोखरी   2077-06-06

वीरगन्ज : तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड रुपैयाँबराबरको ५० कन्टेनर छोकडा वीरगन्जमा रोकिएको छ ।

नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदीश पूर्वेले जानकारी दिए । उनले छोकडा छाड्ने वा नछाड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताए ।

विदेशी मुद्रा सञ्चितमा दबाब बढेको भन्दै नेपाल सरकारले गत चैत १६ गतेयता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नगनित अग्रवालले बताए ।

उनले बन्दरगाहमा आइसकेका छोकडाको जाँचपासमा रोक लगाएपछि कच्चा पदार्थका रुपमा रहेको छोकडा सडेर बिग्रिन थालेको गुनासो गरे । व्यवसायीले सरकारले केराउ, मरिच र सुपारी जुन प्रक्रियाबाट सरकारले छोड्यो त्यही प्रक्रियाबाट छोकडा पनि छाड्नुपर्ने माग गरेका छन् । -रासस