नेपाल–भारत सीमानाकाको दीर्घकालिन ब्यवस्थापन गर्न संघको माग


नेपाल–भारत सीमानाकाको दीर्घकालिन ब्यवस्थापन गर्न संघको माग

File Photo

नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघले पाँच नम्बर प्रदेश सरकारको निर्णयलाई स्वागत गर्दै नेपाल–भारत सीमानाकाको दीर्घकालिन व्यवस्थापनको माग गरेकोछ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले संयुक्तरुपमा एक प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकार प्रदेश नम्बर ५ मुख्यमन्त्रीको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले नेपाल–भारत सीमामा हुने आवातजावतलाई निरुत्साहित गर्न गरिएको निर्णयप्रति स्वागत जनाएका हुन् ।

प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले कोभिड–१९ को हालसम्मको आँकलन गर्दै यसको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने एवम् नेपाल र भारत बीचका तोकिएका सीमानाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्ड अनुसार आवागमनको व्यवस्था गर्ने, हेल्थ डेस्क राख्ने, अभिलेख राख्ने र आवश्यक सचेतनाका लागि प्रचाररप्रसारको व्यवस्था सम्बन्धित (जिल्ला प्रशासन कार्यालय)ले मिलाउने निर्णय गरेको छ ।

कोभिड–१९ को उच्च सङ्क्रमणलाई मध्यनजर गर्दै चाडपर्वको समयमा नेपाल–भारतबीच हुने छोटो अवधिको आवत जावतलाई पूर्व नियन्त्रण तथा निरुत्साहित गर्ने निर्णयप्रति संघको पूर्ण सर्मथन रहेको बिज्ञप्तीमा उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उद्योग वाणिज्य संघ सदैव सीमानाकाको प्रभावकारी एवं दीर्घकालिन व्यवस्थापनका लागि पहल गर्दै आएको कुरा जनाउँदै प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले गरेको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि संघीय तथा प्रदेश सरकारले तत्परता देखाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

नेपाल–भारतबिच धार्मिक, सांस्कृतिक एवं आर्थिक सम्बन्ध रहेता पनि कोभिड–१९ का कारण उत्पन्न परिस्थितीको सामना गर्नका लागि सरकारले हालसम्म गरेका निर्णयहरु पालना गर्नुको विकल्प नरहेको अवगत गराउँदै सीमानाका व्यवस्थापनको लागि दीर्घकालिन एवम् स्थायी योजना बनाउन नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ ।