File Photo
नेपालगन्ज : कामका लागि भारत जानेहरुसँग अबैध रुपमा भाडा असुली हुन थालेपछि यातायात ब्यवसायीले भाडा निर्धारण गरेका छन् ।
नेपाल–भारत सीमा नाका रुपैडिहाबाट भारतको चण्डीगढ र हिमाञ्चल प्रदेशको सिम्ला सञ्चालन हुने दुई यातायात ब्यवसायीले भाडा निर्धारण गरेका हुन् । दलालको सहयोगमा गैरकानूनी रुपमा सञ्चालनमा रहेका यातायात ब्यवसायीले यात्रुसँग दोब्बर भाडा असुल्न थालेपछि भाडा निर्धारण गरिएको स्वर्गद्वारी यातायात सेवा प्रालिका अध्यक्ष दीपक चन्दले बताए ।
उनले कामका लागि भारत जानेहरुसँग दलालीले दोब्बर भाडा लिन असुल्न थालेपछि सर्वसाधारणलाई मर्का नपर्ने गरि भाडा निर्धारण गरिएको बताए । अन्य यातायात ब्यवसायीले सिम्ला जाने यात्रुसँग प्रति ब्यक्ति ६/८ हजार भारतीय रुपैँया असुल्ने गरेको उनले आरोप लगाए ।
स्वर्गद्वारी यातायात सेवा र पशुपति यातायात प्रालिका पदाधिकारीविच बसेको बैठकले सिम्लाका लागि प्रति ब्यक्ति तीन हजार र चण्डीगढका लागि दुई हजार भारतीय रुपैँया भाडा निर्धारण गरेको अध्यक्ष चन्दले स्पष्ट पारे । लकडाउन हुनुअघि सिम्लाको हाइस गाडी भाडा एक हजार आठ सय र चण्डीगढको एक हजार दुई सय रुपैँया थियो । यो भाडा दर कोरोना संक्रमण अवधिका लागि मात्र निर्धारण गरिएको हो । ‘अवस्था सामान्य हुनु वित्तिकै भाडा दरमा फेरबदल हुने छ,’ उनले भने ।
यात्रुलाई ठगिन र लुटिनबाट जोगाउन भाडा निर्धारण गरेको पशुपति यातायात प्रालिका अध्यक्ष शिव योगीले बताए । उनले लकडाउनका बेला कामका लागि भारत जानेहरुबाट अवैध रुपमा रकम असुली भइरहेको बताए । कामका लागि भारत जानेमा अधिकांश गरिव हुन्छन् । ति गरिव वीच बाटोबाट लुटिन सुरु हुन्छ । गरिबलाई लुट्न हुँदैन भन्ने लागेर भाडा निर्धारण गरेका हौँ,’ उनले भने ।
उनले भारतीय रोडवेजका गाडीमा सवार गर्दा लुटिने सम्भावना बढि हुने भएकोले नेपालमा दर्ता भएका यातायात प्रालिद्वारा संचालित सवारी साधनमा चढ्न आग्रह गरेका छन् ।
यात्रुको आर्थिक तथा भौतिक सुरक्षाको ग्यारेन्टी गरिने बताउँदै स्वर्गद्वारी यातायात सेवाका अध्यक्ष चन्दले यात्रुलाई बाटोमा गुणस्तरीय तथा शुद्ध खानाको ब्यवस्था समेत गरिएको बताए । भारत सरकारको नीति अनुसार यात्रुले दुर्घटना बीमा पाउने ब्यवस्था छ । यात्रुको मृत्यु भएमा आश्रीत परिवारका सदस्यलाई उचित राहत पनि दिँदै आएका छौँ,’ चन्दले भने ।