ठगिदैं उपभोक्ता, झारा टार्दै अनुगमन समिति


ठगिदैं उपभोक्ता, झारा टार्दै अनुगमन समिति

File Photo

नेपालगन्ज : मुख्य चाडपर्वको समयमा बाँकेको नेपालगन्ज, कोहलपुर लगायतका बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता मारमा परेका छन् ।

कोरोना माहामारीबाट सिर्जित असहज परिस्थितीमा चाडबाडकै अवधिमा खाद्यान्न, कपडा, तरकारी, रंगरोगनका सामग्रीको मूल्य अत्याधिक बृद्धि हुदाँ उपभोक्ता मारमा परेका हुन् ।

चाडपर्वमा किनमेलका लागि चहलपहल बढी हुने भएकाले व्यापारीले मनलाग्दी मूल्य तोकेर उपभोक्तालाई ठगिहेका छन् । तर, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपभोक्ता ठगिनबाट बचाउँ गर्ने निकायका रूपमा गठित सरकारी अनुगमन समिति मात्रै नभई उपभोक्ता हकहित संरक्षण समिति समेत उदासिन छ ।

सम्भावित कालोबजारी र मूल्यबृद्धि नियन्त्रणका लागि अनुगमनलाई तिव्रता दिएको सरकारी दाबी भएपनि बाँकेको हकमा सरकारी तथा गैरसरकारी वा स्थानीय निकायमा गठित अनुगमन समिति प्रभावकारी हुन सकेको देखिदैन् ।

Kanti Aarogya Hospital Nepalgunj

बेमौसमी रूपमा कहिले काँही हुने अनुगमन अघिअघि र कालोबजारी तथा महंगी पछिपछि हिंडिरहेको अवस्था बाँकेका नेपालगन्ज, काहेलपुर लगायतका बजारमा थुप्रै छ । बजार अनुगमन गर्दा मूल्य सूची नराख्ने, बिल नदिने, खरिद बिल नदेखाउने, दर्ता नभई सञ्चालन, म्याद नाघेका, बढि मूल्य तिर्नुपर्ने लगाएतका पसल भेटिने गरेका र उपभोक्ता दैनिक ठगिदै आएका प्रमाणहरु भेटिएका छन् । तर, पनि कारबाही भने कसैमाथि हुन सकेको छैन ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको अनुगमन चाडपर्वका अवधिभर सक्रिय रहने अघिपछि समितिकै अत्तोपत्तो नहुने गरेको नागरिक समाजका अगुवा बताउँछन् ।

गाउँका पसलबाट पनि उपभोक्ताहरु ठगिइरहेका छन् । कोरोना भाइरसबाट सिर्जित असहज परिस्थितमा महंगीका कारण दशैंको खुसियाली घरघरमा भित्रिन नसकेको भन्दै उपभोक्ताहरुको गुनासो बढिरहेकोछ । बजारमा यतिबेला ब्यवसायीको मनोमानि चलिरहेकोछ ।

निर्वाचित स्थानीय सरकार गठन भएको वर्षौं पुगेपनि अनुगमन गर्ने निकाय र अधिकार सहितको स्थानीय सरकार गठन भए पनि बजार अनुगमन हुने र उपभोक्तालाई ठगिनबाट बचाउन त परको कुरा मनोमानीरुपमा मूल्यबृद्धि गर्ने ब्यवसायीलाई कारबाही गर्न सकेको छैन । जसले गर्दा अहिले बजारमा दर्ता बिनानै पसल सञ्चालन भईरहेका छन् । पसलपिच्छे व्यवसायीहरुले मनोमानी मूल्य निर्धारण गर्ने गरेको छन् । चाडपर्वको समयमै हरेक सामानको अस्वभाविकरुपमा मूल्य बृद्धि भएको उपभोक्ता टिकाराम खत्रीले सेतोखरीलाई बताए ।

चाडपर्वलाई मध्नजर गरी बजार अनुगमन भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नियमित बजार अनुगमनका लागि योजना बनाई अघि बढिरहेको भन्दै नियतबस र नियमबाहिर गएकालाई कारबाही गरिने बताए ।