एकैदिन सुनको मूल्य ह्वात्तै घट्यो


एकैदिन सुनको मूल्य ह्वात्तै घट्यो

नेपालगन्ज : मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ । सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार नेपाली बजारमा छापावाला सुनको कारोबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सुनको भाऊ यसरी घट्नुमा अन्तर्राष्ट्रिय बजारमा कोरोनाविरुद्धको खोपको सफल परीक्षण हुनुलाई प्रमुख कारण मानिएको छ ।

अमेरिकी–जर्मन स्वास्थ्य विज्ञले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको खबरसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट देखिएको हो । यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो ।

अन्तर्राष्ट्रिय बजारको मूल्य र नेपालले सुन आयातमा लगाउँदै आएको भन्सार महसुललाई जोडेर नेपाली बजारको मूल्य निर्धारण हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा यस्तो खबर फैलिएसँगै सोमबार अन्तराष्ट्रिय बजारमा १ हजार ९ सय ६३ डलर प्रतिऔंसमा खुलेको बजार १ हजार ८ सय ६२ डलर प्रतिऔसमा झरेर बन्द भएको थियो । मंगलबार भने यो मूल्यमा सामान्य बृद्धि भएर कारोबार भइरहेको छ ।