नेपालगन्ज : बाँकेका मुक्त कम्लहरीहरुले थाकलबाट आर्कषक टोपी र झोला बनाउन थालेकाछन् । सुन्दा अनौठो र आश्चर्य लाग्दो हो तर, बाँके राप्तीसोनारी गाउँपालिकामै थाकलको आर्कषक झोला र टोपी बन्ने गरेको छ ।
वनमा खेर जाने थाकलबाट आर्कषक झोला र टोपी बनाउँदै मुक्तकम्लहरी महिलाहरुले राम्रो आम्दानी गरिरहेकाछन् । उनीहरुले थाकलबाट झोला र टोपी बनाउने उद्देश्य सहित यतिबेला प्रशिक्षण लिइरहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय, बाँकेबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ मा थाकलबाट टोपी र झोला बनाउने तालिम यतिबेला सञ्चालनमा छ ।
कार्यालय प्रमुख जयराम थारुका अनुसार वनमा त्यसै खेर जाने गरेको थाकलको उचित ब्यवस्थापनसगैं यसबाट निर्माण गरिएको झोला र टोपीले आम्दानीको स्रोत बन्ने बताए ।
प्रशिक्षण सकिए लगत्तै दश जना महिलाले थाकलबाट बनेका झोला र टोपी उत्पादन गरी बजारमा बिक्री गर्ने उद्देश्य राखेको उनले जानकारी दिए । उत्पादनपछि बिक्रीको कुनै समस्या नहुँने र बिक्रेता घरमै आएर लैजाने भएपछि राप्तीसोनारी गाउँपालिकाका महिला यतिबेला थाकलबाट निर्माण हुने झोला र टोपी निर्माणको सीप सिकिरहेकाछन् ।
थाकल प्राकृतिक रेशाजन्य बनस्पतिका रुपमा मानिन्छ । यसको फल खाइन्छ भने बोट त्यसै खेर जाने गरेको छ । त्यसै खेर जाने बोटबाट झोला र टोपी लगायतका सामाग्री निर्माण हुनेभएपछि यसको बहुउपयोगिताका यतिबेला चर्चा हुन थालेकोछ ।