एक विद्यालय एक नर्स, माक्स र स्यानिटाइजर अनिवार्य
File Photo
राप्तीसोनारी (बाँके) : कोरोना भाइरस संक्रमणकाबीच आईतबार (आज) देखि बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विद्यालय खुलेकाछन् । योसंगै राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा आईतबारदेखि पठनपाठन सुचारु भएको छ ।
स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सुचारु गर्ने दुई गाउँपालिकाले गरेको निर्णय अनुसार कोरोना संक्रमणका कारण विगत ९ महिनादेखि बन्द रहेका जिल्लाका यी दुई गाउँपालिकामा पठनपाठन शुरु भएको हो ।
राप्तीसोनारी गाउँपालिकाका निमित्त कार्यालय प्रमुख जीवन न्यौपानेका अनुसार गाउँपालिकामा रहेका २ मदरसासहित ५४ साम’दायिक विद्यालय र १६ वटा सस्थागत विद्यालय पूर्णरुपमा सञ्चालनमा आएको जानकारी दिए ।
उनका अनुसार कार्यपालिकाको बैठक र विद्यालयका प्रधानाध्यापकहरुको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ मा उल्लेख भएका मापदण्ड अनुसार विद्यालय सञ्चालनमा ल्याइएको हो ।
विद्यालयमा स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्णरुपमा लागु गरि विद्यार्थीका लागि अनिबार्य मास्क, कक्षाकोठामा एक बेन्चमा दुई जना, विद्यालयमा साव’नपानीको उचित व्यवस्थापन लगायतको ब्यवस्थापन गरि विद्यालय सञ्चालन गरिएकोछ ।
यसैबीच, बाँकेको नरैनापुर गाउँपालिकाले पहिलो चरणमा आजबाट माध्यमिक तहका विद्यालय सञ्चालनमा ल्याएकोछ । आईतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जयकिसान माविमा पठनपठान शुरु गरिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।
ती विद्यालयमा माध्यमिक तह (कक्षा ९ देखि १२) को पढाई हुनेछ । कोरोनाका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाई क्रियाकलाप अबरुद्ध भएकाले मन्त्रालयको कार्यढाँचा अनुसार आईतबारदेखि विद्यालय सुचारु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शाह बताउँछन् ।
उनका अनुसार पछिल्लो समय नरैनापुरमा कोरोना संक्रमणको नयाँ केस नदेखिएपनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी विद्यालय सञ्चालन गरिएको छ ।
‘कार्तिक २७ गतेको गाउँपालिकाको शिक्षा समितिको बैठक, मंसिर ८ गतेको कार्यपालिकाको बैठक र १२ गतेको माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ मा उल्लेख भएका मापदण्ड अनुसार मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ,’ प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले भने–‘एक सातासम्म त्यसको प्रभाव हेरेर त्यसपछि थप विद्यालय र कक्षाहरु सुचारु गर्ने बारे निर्णय लिन्छौं ।’
प्रत्येक दिन कक्षा शुरु हुनु अगावै स्यानीटाइज गर्ने, प्रत्येक कक्षा कोठाहरुमा स्यानीटाइजरको व्यवस्था तथा अनिवार्य मास्क प्रयोगको प्रबन्ध मिलाइने शाहीले बताए । ‘प्रत्येक बेन्चमा दुई जना मात्रै विद्यार्थी बसाउने, एउटा कक्षामा १५ वटा भन्दा बढी बेन्च नराख्ने, प्रत्येक विद्यालयमा एक जना नर्स खटाउने छौ,’ शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले बताए ।
स्वास्थ्यकर्मी खटाउनेदेखि मास्क र स्यानीटाइजरको व्यवस्थासंगै समग्र स्वास्थ्य सुरक्षाका जिम्मेवारी स्वास्थ्य शाखालाई दिइएको थारुले बताए । विद्यालय सञ्चालन भइसकेपछि त्यसको अवस्था अनुगमनका लागि उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबको नेतृत्वमा निरीक्षण समेत गरिने थारुले जानकारी दिए ।